काठमाडौं । गौर हत्याकाण्ड संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापनपत्र बुझाएका छन् । २०६३ साल चैत्र ७ गते रौतहटको गौरमा भएको २७ जनाको हत्याका दोषी अझै कानूनी दायरामा नआएकाको भन्दै पिडितले अविलम्ब कारवाहीको माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
गौर हत्याकाण्ड संघर्ष समितीका संयोजक रुपसागर उपाध्यायले आज रिपोटर्स क्लबमा एक कार्यक्रमको आयोजना गरी एक प्रेस विज्ञप्ती जारी गर्दै उपेन्द्र यादवको नेतृत्वमा तत्कालीन मधेसी जनअधिकार फोरमले पेशेवर अपराधिक समूहले बन्दुक धारीलो हतियार लगायत ईंट्टा ढुंगाले प्रहार गरी २७ जनाको हत्या, सयौं घाइते बनाएको र महिलाहरुको बलात्कार गरेको आरोप लगाएका छन् ।
संयोजक उपाध्यायले गौर हत्याकाण्डका दोषीलाई घटना भएको १४ वर्ष बितीसक्दा पनि अनुसन्धानको दायरमा ल्याइ कारवाही नगरेका कारण दोषीहरु खुलेआम हिँडीरहेकाले कारवाहीको माग गरेका छन् । उनले राष्ट्रिय मानव अधिकार आयोगलाई पनि यो बर्बर हत्याकाण्डको बारेमा ध्यानाकर्षण गराएको जनाएका छन् ।
दोषीले उन्मुक्ति पाए घटनालाई अन्तर्राष्ट्रिय न्यायालय वा निकायमा प्रस्तुत गरी अन्तर्राष्ट्रियकरण लगायत राष्ट्रियस्तरमा समेत संघर्षका कार्यक्रम संचालन गर्ने पिडितले चेतावनी दिएका छन् ।
गौर हत्याकाण्डमा के भएको थियो ?
रौतहट जिल्लाको गौरबजारमा भएको विभत्स नरसंहार २०६३ चैत्र ७ गते बिहीवार भएको थियो । तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएको वर्ष दिन नपुग्दै भएको रौतहटको गौर हत्या काण्डमा २८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए ।
उनीहरुको निर्मम हत्या भएको थियो । उक्त घटना हुँदा २०६३ सालको अन्तरिम संविधान जलाएर मधेश आन्दोलनको नेतृत्व गरेको मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव थिए । उनकै निर्देशनमा रौतहटमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तालाई भाला, छुरा, लाठी र गोली प्रहार गरि निर्मम हत्या गरेको तत्कालिन माओवादीले दाबी गरेको थियो ।
त्यतिबेला माओवादी सरकारमा थियो । उता, मधेसी जनअधिकार फोरम भने मधेश आन्दोलनमा थियो । उक्त गौर हत्या काण्डमा माओवादीका २७ जना कार्यकर्ताहरु ठाउँको ठाउमै मारिएका थिए भने एक जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको भनिएको छ । त्यतिबेला कांग्रेस नेता कृष्ण प्रसाद सिटौला गृहमन्त्री थिए ।
त्यतिबेला मारिएकाहरु अधिकांशलाई स्वचालित हतियारले गोली हान्नुका साथै बाँसको फट्टा, ढुङ्गा इट्टाले टाउको र मुखमा थिचेर, धारिलो हतियार प्रहार गरेर, टाउको लगायत संवेदनशील स्थानहरुमा जथाभावी घोचेर, महिलाहरुलाई बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया