काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई एजेन्ट राख्न दिने गरी तयारी थालेको छ ।
बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय तुइएपछि बोर्डले यस्तो तयारी थालेको हो । बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिने काम आँफै रोकेको थियो । ब्रोकर कम्पनीलाई एजेन्ट राख्न दिने विषयमा छलफल चलिरहेको बोर्ड स्रोतले लोकपथलाई जानकारी दिएको छ । यस विषयमा बोर्डले प्रदेशस्तरमा पनिे नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने विषयमा छलफल गरिरहेको स्रोतको भनाई छ ।
सेयर ब्रोकरलाई एजेन्ट राख्न दिने व्यवस्था आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउने भएको छ । त्यसै अनुरुप तयारी भइरहेको बोर्डले आन्तरिक तयारी गरिरहेको हो । जसका लागि निर्देशिका समेत तयारी भएको छ । त्यस्तै, बोर्डले हाल कार्यान्वयनमा रहेको धितोपत्र व्यवसायी नियमावलीको संशोधनका लागि अर्थ मन्त्रालयमा पठाउने तयारी समेत गरेको छ ।
बोर्डले केही समयअघि यसका विषयमा अध्ययन गर्न बोर्डकै उपकार्यकारी निर्देशक डा।नवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो । सो समितिले अध्ययन रिपोर्टसहित निर्देशिका नै तयार बनाइसकेको बोर्डले जनाएको छ ।
यसअघि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय तिव्रताका साथ अगाडी बढेको थियो । ब्रोकरको काम गर्न बैंकहरु पनि इच्छुक थिए भने लाइसेन्सका लागि पाइप लाइनमा पनि बसेका थिए । यस विषयमा लामो समयदेखि कुरा उठिरहेकाले संसदको अर्थसमितिले पनि चासो राख्दै सांसद रामकुमारी झांक्रीको संयोजकत्वमा एउटा अध्ययन उपसमिति समेत बनाएको थियो । सो उपसमितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन हुने गरी प्रतिवेदन तयार पारेको थियो ।
प्रक्रिया समेत अघि बढेको सन्दर्भमा त्यसलाई रोक्दै अब ब्रोकरलाई एजेन्ट राख्न दिने गरी तयारी थालिएको हो । लगानी कर्ताले लामो समयदेखि बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स दिन माग गर्दै आएपनि अब त्यो विषय पूर्ण रुपमा तुहिएको छ ।
सरकारले आर्थिक वर्ष २०७४/०७५ को बजेटमा बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय समावेश गरिएको थियो । तयस्तै,सरकाले पूँजी बजार सुधार र विस्तार गर्न पनि राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा गठन गरिएको कमिटीले सिफारिस गरेको ५८ बुँदे सुझावमा पनि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उल्लेख थियो । तर बोर्डले एकाएक प्रक्रिया उल्टाएपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने काम भने पूर्ण रुपमा प्रभावित भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया