काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार वि.सं २०७७ सालको एसईई २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको छ । जसअन्तर्गत निम्न दिनमा निम्न लिखित विषयको परीक्षा हुनेछः
जेठ १३ गतेः अनिवार्य अँग्रेजी । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य र अनिवार्य अँग्रेजी विषय
जेठ १४ः अनिवार्य नेपाली
जेठ १६ः अनिवार्य गणित
जेठ १७ः अनिवार्य विज्ञान
जेठ १८ः सामाजिक शिक्षा
जेठ १९ः स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा
जेठ २०ः ऐच्छिक गणित, सोही दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ । त्यसपछिका २१, २२, २३ र २४ गते प्राविधिक विषयका परीक्षाहरु हुनेछन् ।
परीक्षा बिहान ८ बजेदेखि शुरु भएर ११ बजेसम्म जारी रहनेछ ।
यसपालिको एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने मन्त्रिपरिषद्को बैठकले निर्धारण गरेको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकमा गरिएको निर्णयमा ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०)को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’उल्लेख गरिएको छ ।
गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी एसईईको नतिजा प्रकाशित गरिएको थियो ।
एसईई नजिकिएसँगै विद्यार्थीहरुमा एक किसिमको त्रास पैदा भएको हुनसक्छ । अभिभावकमा पनि आफ्ना छोराछोरीको परीक्षालाई लिएर चिन्ता बढेको हुनसक्छ । यसैपनि एसईईलाई शैक्षिक यात्राको महत्वपूर्ण खुड्किलाका रुपमा लिइन्छ । ‘फलामे ढोका’ भनेर चिनिने एसईईमा राम्रो अंक ल्याउन सके उच्च शिक्षाका लागि उचित विषय र राम्रा कलेजमा भर्ना हुने विश्वास रहेकाले पनि यस परीक्षाका लागि विद्यालय प्रशासनले, अभिभावकले र स्वयम् विद्यार्थीले नै पनि अलि बढी प्राथमिकता दिने गरेको पाइन्छ ।
त्यसमाथि पनि कोभिड १९ को महामारीबाट भर्खरभर्खरै माथि उठ्न प्रयासरत अवस्थामा परीक्षा दिनु पर्दा विद्यार्थी तथा अभिभावकको मनोबलमा केही असर जरुर परेको हुनसक्छ ।
अधिकांश विद्यार्थी परीक्षाको तयारी कसरी गर्ने र कसरी पढ्दा लामो समयसम्म स्मरण गर्न सकिन्छ भन्ने विषयमा अलमल्ल पर्ने गर्छन् ।
नतिजाको दौडमा लाग्दा त्यसले तनाव निम्त्याउँछ, जो परीक्षाको बेला प्रत्युत्पादक हुन सक्छ । अर्थात् धेरै अंक ल्याउने ध्याउन्नमा मस्तिष्कलाई अनावश्यक बोझ पर्न थाल्छ । परीक्षाको बेला तनावमुक्त हुनु जरुरी छ । पढेको कुरा पुनःस्मरण गर्नुपर्छ । तर, ‘टुप्पी कसेर’, ‘घुँडा धसेर’ किताब घोक्नुको कुनै अर्थ रहँदैन ।
परीक्षा कसरी राम्रो गर्ने भन्ने विषयमा केही शिक्षाविद्सँगको कुराकानीबाट लोकपथले केही टिप्स जम्मा पारेको छ ।
पूरा अध्ययनः यदि विद्यार्थीले तन मन दिएर किताबको सम्पूर्ण ज्ञान लिन सक्यो भने उसले करिब प्रश्नपत्रमा आउनसक्ने प्रश्नको बारेमा भेउ पाउन सक्छ ।
पुुराना प्रश्नपत्रको अध्ययनः परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुुराना प्रश्नपत्रको अध्ययन । यसले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न सहज हुुन्छ । कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु¥याउँदछ । यस्तै ग्रुप ए मा दिईएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधिमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे जानकारी हुन्छ ।
समूह बनाएर पढ्नेः परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले आफूलाई प्रश्न सोध्न सकिन्छ र यसो गर्दा आत्मविश्वास बढ्छ । यसका अलावा पढेको कुुरा स्पष्टसँग बुुझ्न सकिन्छ । त्यसबाहेक साथीहरुको नोटबाट पनि नयाँ जानकारी वा ज्ञान पाउन पनि सकिन्छ ।
लेख्दै अध्ययन गर्नेः पूरै पाठ कण्ठ गर्ने वा पाठ वाचन गर्ने शैली त्यति प्रभावकारी मानिँदैन, खासगरी स्मरणका लागि । आफूले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधि उपयुक्त हुन्छ । लेख्ने तरिका छिटो र सजिलो माध्यम हो स्मरण गर्नको लागि । कुनैपनि पाठ याद गर्नका लागि पुस्तक पढ्ने वा लेख्ने र आँखा चिम्लिएर त्यसलाई मनन गर्ने हो ।
बिहान पढ्नेः कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ । परीक्षामा मात्र पढ्ने विद्यार्थीहरुले भने कठिन सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनमा देखिएको छ ।
चार्ट र डायग्रामको प्रयोगः कुुनै विषयवस्तुु पढ्दा श्रव्यदृश्य सामाग्रीले सम्झन निकै सहयोग पु¥याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उर्तानु पर्छ जसलाई सम्झन सकियोस् ।
पर्याप्त सुत्नेः परीक्षाका नाममा निद्रा मारेर नसुत्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ । त्यसैले पर्याप्त सुत्नु राम्रो हुन्छ ।
स्वास्थ्यको ख्याल गर्नेः परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै विद्यार्थीलाई यसवेला स्वास्थ्य समस्या देखापर्न सक्छ । केही विद्यार्थीहरु परीक्षाको समयमा बिरामी परेर परीक्षा नै छुटेको समाचारहरु पनि हामीले सुनेका छौँ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सही समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।
खानेकुरामा ध्यान दिनेः परीक्षाको बेलामा ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफूले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।
नियमित ब्रेक लिनेः परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुुकमा मात्र केन्द्रित हुुनुु हुुँदैन । नियमित रुपमा ब्रेक लिनुुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुुपर्छ । जुुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुुपर्छ ।
आफूले जानको कुुरालाई साथीहरुलाई भन्नेः भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुुरा अरुलाई भन्दा बढी प्रभावकारी हुुन्छ । त्यसैले साथीहरुलाई आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुुक्ति पाइन्छ ।
परीक्षाको दिन विशेष तयारीः परीक्षाको दिन दिमागलाई प्रेसर दिनु कदापी हुँदैन । त्यसैले परीक्षाको दिन अगावै मिहिनेत गरेर नियमित पठनपाठन गर्नुपर्छ भनिएको हो । परीक्षाको दिन सखारै उठेर केही बेर ध्यान गरेर ब्रेकफास्ट लिनुपर्छ । समयको हेक्का राख्नुपर्छ । परीक्षाको समय आवश्यक पर्ने सरसामाग्रीहरु जस्तै दुईवटा पेन, पेन्सील ईरेजर, स्केल र एडमिट कार्ड अर्थात् प्रवेश पत्र भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडि परीक्षास्थल पुग्नुपर्छ । र प्रश्नपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ । नभुलौँ एउटा प्रश्न पूर्ण रुपमा बुझ्नु भनेको ४० प्रतिशत हल गरिनु बराबर हो ।
कहिलेकाहीँ घण्टौं पढेपनि दिमागले केही टिप्दैन । कहिले दिमागले टिपिसकेको कुरा पनि परीक्षामा लेख्दै गर्दा भुसुक्कै बिर्सिइन्छ । यो आम समस्या हो । खासमा यो मस्तिष्कको क्षमता भन्दा पनि हाम्रो परीक्षा तयारीमा भरपर्ने कुरा हो । भनिन्छ नि ‘डन्ट वर्क हार्ड, वर्क स्मार्ट’ अर्थात्, धेरै कडा मिहिनेत नगर बरु चाहिँदो र बुद्धिमानी ढङ्गले मिहिनेत गर्नुपर्छ । त्यसैगरी ‘स्मार्ट’ तरिकाले पढ्ने हो भने हामीले सजिलैसँग पढ्न सक्छौं र पढेको कुरा याद गर्न सक्छौं ।
सामान्य लाग्ने तर, अत्यन्त महत्त्वपूर्ण टिप्सः
नियमित नुहाउने
प्रशस्त पानी पिउने
धेरै पिरो खानेकुरा सकेसम्म नखाने किनकी यसले मस्तिष्कलाई छिटो थकाउँछ
पढ्ने कोठा उज्यालो र सफा राख्ने
स्वच्छ हावामा हिँडडुल गर्ने
पढेको कुरालाई आफूलाई मनपर्ने गीतको संगीतमा ढालेर याद गर्ने
शब्दहरुलाई तस्वीर तथा दृश्यमा ढालेर पनि स्मरण गर्न सकिन्छ
अभिभावकको भूमिकाः
विद्यार्थीहरुको परीक्षाको नतिजा राम्रो वा नराम्रो हुनुको पछाडि उनीहरुको एकल भूमिका भने हुँदैन । तयारीका लागि अभिभावकले पनि घरमा त्यहीअनुसारको वातावरण सिर्जना गरिदिनुपर्छ ।
आफ्ना नानीबाबुहरु परीक्षाको तयारी गर्दैगर्दा बाबुआमाले यसरी उनीहरुलाई मद्दत गर्नसक्छन्ः
अध्ययनको वातावरणः परीक्षाको समय विद्यार्थीहरु मानसिक रुपले थकित हुन्छन् । उनीहरुमा परीक्षामा राम्रो अंक कसरी ल्याउने भन्ने चिन्ता हुन्छ । यस्तो बेला अभिभावकहरु घरमा झै–झगडा गर्छन् भने छोराछोरीको मन मस्तिष्कमा नकारात्मक प्रभाव पर्छ ।
झैझगडा मात्र होइन अभिभावकको हरेक नकारात्मक गतिविधिले अध्ययनमा जुटेका छोराछोरीमा गम्भीर असर पर्छ । त्यसैले अध्ययनको राम्रो वातावरण सिर्जना गरिदिनुपर्छ । राम्रो वातावरणका लागि शान्त ठाउँ भएर मात्र पुग्दैन, घरपरिवारको व्यवहार पनि आत्मीय र प्रेरणादायी हुन जरुरी छ । तर रिस डर धम्की देखाउनु कदापी हुँदैन ।
मनोविज्ञान बुझ्नेः हरेक बालबालिकाको मनोविज्ञान, क्षमता र रुचि फरक हुन्छ । अर्कातिर कक्षा १० मा पुगेका बालबालिकाको उमेरका कारण, शरीरमा हुने वृद्धि विकास, हर्मोनको कारण एवम् मनोविज्ञान फरक तरिकाको हुन्छ । त्यसैले अभिभावकले आफ्ना छोराछोरीको सोचाइ, व्यवहार मध्यनजर गर्दै त्यहीअनुसारको व्यवहार गर्नुपर्छ ।
मैत्रीपूर्ण व्यवहारः परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई सधैं नै असल साथीको खाँचो हुन्छ र त्यो अभाव अभिभावक स्वयंले पूरा गर्न सक्छन् । आफू कति कमजोर छु, कुन–कुन विषयमा कमजोर छु भन्ने जस्ता कुरा उनीहरु आफ्ना साथीलाई मात्र भन्न सक्छन् । शिक्षक वा अभिभावकका अगाडि डरले पनि यस्ता कुरा लुकाउँछन् । त्यसैले उनीहरुको कमजोरी थाहा पाउन उनीहरूसँग मित्रवत् व्यवहार गर्नुपर्छ ताकि उनीहरु आफ्नो कमजोरीका सम्बन्धमा सजिलै खुल्न सकून् । छोराछोरीको कमजोरी बुझेर सोहीअनुरूपको शिक्षाको प्रबन्ध गर्न सकिन्छ ।
कक्षा १० मा पुगेका छोराछोरीको उमेर भनेको सुन्दर देखिन खोज्ने, स्मार्ट बन्न खोज्ने उमेर हो । यसलाई अभिभावकले बुझेर हौसला र आवश्यक सल्लाह दिनुपर्दछ । परीक्षा र नतिजामा मात्र ध्यान दिने होइन, उनीहरुका इच्छा र स्वतन्त्रतालाई पनि ध्यान दिनु असल अभिभावकको गुण हो ।
शिक्षकको भूमिकाः अभिभावकले शिक्षकको भूमिका खेल्नुपर्ने हुन्छ । छोराछोरीलाई अनुशासनमा बाँधेर, उनीहरूले नबुझेको कुरा आफूलाई आउँछ भने सहज रुपमा सिकाइदिनु अभिभावकको कर्तव्य हो ।
प्रेरणाको स्रोतः छोराछोरीका निम्ति प्रेरणादायी भूमिका सधै अभिभावकले नै निभाउनुपर्छ । प्रेरणाले छोराछोरीहरुमा नयाँ ऊर्जा थपिन्छ, केही गर्छु भन्ने जोस आउँछ । ‘तिमी परीक्षामा सफल हुन्छौ, तिमीले गरेको प्रयास राम्रो छ’ जस्ता प्रेरणादायी बोली व्यवहार उनीहरुमाथि झल्काइरहनुपर्छ । अध्ययनका क्रममा उनीहरूमा हीनताबोध सिर्जना हुन दिनु हुँदैन । उचित हौसला एवम् प्रेरणाको अभावमा पनि विद्यार्थीहरु कमजोर हुन्छन् ।
सहयोगीः अध्ययन गरिरहेको बेलामा अभिभावकले बारम्बार डिस्टर्व गर्नु हुँदैन । धेरै पढ्–पढ् भनेर दबाव दिँदा विद्यार्थीहरु निरास हुन सक्छन् । त्यसैले पनि उनीहरुको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।
समय दिनेः आजभोलिका अभिभावक प्राय व्यस्त हुन्छन् तर, प्रत्येक दिन केही समय छुट्ट्याएर छोराछोरीसँग संवाद गर्नुपर्छ । परीक्षाको तयारी के कस्तो छ भनेर बुझ्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया