धनगढी-टेकसिँह धामी । कैलालीमा एमाले भित्रका दुई समूह बिच झडप भएको छ । सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा एमालेका ओली समूह र माधव समूहका कार्यकर्ता बिच झडप भएको हो ।
बुधवार बिहान पार्टी कार्यालयमा माधवकुमार नेपाल समूहले नेकपा एमाले लेखिएको बोर्ड राखको थियो । तर, केही समयपछि केपी शर्मा ओलीका कार्यकर्ताहरुले उक्त बोर्ड हटाए । उक्त बोर्ड हटाउँदै ओली समूहका कार्यकर्ताहरुले आफ्नो बोर्ड राखे ।
बोर्डसँगै प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । तोडफोड पछि विवाद उत्पन्न भयो । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट समेत हटाए ।
यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिए । विवाद बढ्दै गएपछि झडप भएको हो ।
सर्वोच्च अदालतको आइतवारको फैसलाले नेकपा एमाले र नेकपा माओवादी ब्युँताइ दिएपछि दुई फरक–फरक पार्टी बनेका छन् । दुई फरक–फरक पार्टी बनेसँगै केन्द्रदेखि जिल्ला र प्रदेशहरुमा बोर्ड राख्ने र कार्यालय स्थापना गर्ने क्रम चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया