काठमाडौं । सत्ता समीकरणका लागि निर्णायक मध्येको एक जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक आज शुक्रवार बस्दै छ । आज दिउँसो एक बजे पार्टी कार्यालय ग्वार्कोमा बस्ने भनिएको बैठकबाट जसपाले संसदीय दलको नेता चयन गर्ने अनुमान गरिएको छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि जसपा बनेपनि संसदीय दलमा भने अहिले पनि दुवै पार्टी छुट्टा छुट्टै छन् ।
सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको जसपाले सरकारमा सहभागि हुने वा नहुने भन्ने निर्णय पनि आजको बैठकबाटै गर्ने जनाइएको छ । यस विषयमा छलफल गर्न जसपाका नेताहरु बिहीवार प्रधानमनत्री निवास बालुवाटार पुगेका थिए ।
मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन भए सरकारमा सामेल हुने जसपाको अडान छ । हिजोको छलफलमा यी विषयमा सरकार सकारात्मक भएपछि आज यसबारे थप छलफल गर्न लागिएको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।
जसपाका अधिकांश नेताहरु नयाँ सत्ता समीकरणका लागि दौडधुप गरिरहँदा पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने सरकारमा नजाने धारणा राखेका छन् । यसले गर्दा जसपाभित्र नै आन्तरिक विवाद चर्कने सम्भावना समेत बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया