कमला अर्याल /काठमाडौं – पछिल्लो समय बैंकहरुले आक्रामक रुपमा लगानी विस्तार गर्दा बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) को समस्या देखा पर्न थालेको छ । पछिल्ला केही महिना यता बैंकहरुले आक्रामक रुपमा कर्जा लगानी गरिरहेका छन् । बैंकहरुले जसरी कर्जा लगानी गरिरहेका छन्,त्यसरी नै निक्षेप संकलन गर्न सकिरहेका छैनन् । कोरोना भाइरस ‘कोभिड-१९’ का कारण गत फागुनदेखि नै बैंकिङ क्षेत्र प्रभावित भएको थियो । कोरोनाको संक्रमण बाट जोगिन भन्दै सरकारले चैत ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको थियो । त्यसबेला उद्योग, व्यवसाय, कलकारखाना लगायत सम्पूर्ण क्षेत्र ठप्प थिए । जुन बेला बैंकहरुले कर्जा लगानी गर्न सकेनन् । बैंकिङ क्षेत्रमा २ सय अर्ब भन्दा बढी तरलता थुप्रिएर बस्यो । तर सबै क्षेत्र ठप्प भएकाले बैंकहरुले लगानी गर्ने ठाउँ नै भएन । लामो समय बन्द भएकाले जनजीवन प्रभावित भएपछि सरकारले विस्तारै लकडाउन खुकुलो बनाउँदै गयो । त्यसपछि विस्तारै बैंकहरुले लगानी बढाउन थाले । हालसम्म त प्रणालीमा भएको तरलताले थेगिरहेको छ ।
पछिल्लो समय बैंकहरुको लगानीको रफ्तार हेर्दा प्रणालीमा तरलता संकटको अवस्था आउन थालेको देखिएको छ । त्यति मात्रै होइन, तरलता कसिलो हुने बित्तिकै बैंकको ब्याजदर स्वतः बढ्छ । प्रणालीमा तरलता कसिलो भएसँगै बैंकहरुले ब्याजदर बढाउन शुरु गरिसकेका छन् ।
कुमारी र नेपाल एसबिआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । कुमारी बैंकले चैत १ गतेदेखि लागू हुने गरी बैंकले मुद्दतिको ब्याज दर बढाएको छ । बैंकले तीन महिनादेखि एक वर्षसम्म अवधिको मुद्दति निक्षेपको ब्याज आधा प्रतिशत बिन्दुले बढाएको छ । ६ प्रतिशतको ब्याजलाई बैंकले साढे ६ प्रतिशत पु-याएको छ । यो व्यक्तिगत मुद्दतिकर्तालाई दिने ब्याज हो । बैंकले संस्थागत मुद्धतिको ब्याजदर अझै बढीले बढाएको छ । बैंकको नयाँ ब्याजदर अनुसार तीन महिनाभन्दा माथिका सबै संस्थागत मुद्दति निक्षेपको ब्याज ७ प्रतिशत पु-याएको छ । यसअघि बैंकले ३ महिनादेखि ६ महिनासम्मको ब्याज ४.७५ प्रतिशत, ६ महिनादेखि एक बर्षसम्म ५.२५ प्रतिशत, पाँच बर्षसम्मकोमा ६.७५ प्रतिशतसम्म ब्याज थियो । बैंकले बचत खाताको र ऋणको ब्याजदर भने बढाएको छैन । त्यसैगरी नेपाल एसबीआई बैंकले बचत खातामा न्यूनतम ०.२५ प्रतशितदेखि अधिकतम ३.१६ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ । माघ महिनामा बैंकको आधारदर ७.३१ प्रतिशत छ । कर्जा लगानी गर्दा सो आधारदरमा १.२५ प्रतिशतदेखि ५ प्रतिशतसम्म लिन सक्छ ।
यस्तो छ बैंकहरुको पछिल्लो लगानीको अवस्था :
राष्ट्र बैंकको चालू आर्थिक वर्षको ६ महिनासम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रततर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको छ । समग्र बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको वृद्धिदर त्यति बढी नदेखिए पनि पछिल्लो समय वाणिज्य बैंकहरुको कर्जा लगानीको अवस्था हेर्ने हो भने आक्रामक रुपमा बढेको देखिएको छ ।
वाणिज्य बैंकहरुले पछिल्लो केही सातादेखि निक्षेपभन्दा दोब्बरले ऋण लगानी गरेको देखिएको छ । बैंकहहरुले गत साता २६ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् । यस अवधीमा बैंकले १३ अर्ब निक्षेप रुपैँया मात्रै निक्षेप संकलन गरेका थिए । अघिल्लो साता २७ अर्ब ऋण लगानी गरेका थिए भने निक्षेप संकलन ११ अर्ब रुपैँया मात्रै थियो । पछिल्लो समय आक्रामक रुपमा भएको ऋण विस्तार आयातका लागि गएको बैंकर्सको भनाई छ ।
बैंकहरुले चालू आर्थिक वर्षको फागुनसम्म कुल ३३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका भने ४८५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । हालसम्म बैंकहरुले कुल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ३३ खर्ब ८८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।
राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्म बैंकिङ प्रणालीमा ३४ अर्ब तरलता छ । ९ अर्ब ५४ करोड राष्ट्र बैंकले प्रशोचन गरेर राखेको तरलता गरी जम्मा प्रणालीमा ४० अर्ब भन्दा केही बढी तरलता रहेको राष्ट्र बैंकका प्रवक्ता डा।गुणाकर भट्टले बताए । गत वर्ष ब्याजदर (निक्षेप तथा कर्जा) स्थायित्व कायम थियो ।
चैतपछि राष्ट्र बैंकले सीआरआर घटायो,रिफाइनान्सीङको व्यवस्था ग-यो । त्यसले गर्दा बजाारमा अधिक तरलता बढायो । जसले गर्दा बैंकहरुले निक्षेपको ब्याजदर निकै तल झारे । राष्ट्र बैंकले ब्याजदरलाई सन्तुलनमा राख्न पटक पटक बैंकहरुलाई सुझाइरहेको हुन्थ्यो ।
पछिल्लो समय बैंकहरुले बजारमा देखाइरहेको व्यवहार अस्वभाविक भएको भन्दै त्यसले ब्याजदर बढाउने राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया