‘नम्बर वान’ पार्टी बनाउने तागत छ भन्दै ओली र बादललाई प्रचण्डको यस्तो ‘च्यालेन्ज’!

लोकपथ
0
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग देशको ‘नम्बर वान’ पार्टी बनाउने तागत भएको भन्दै छ आफ्नै खुट्टामा उभिएर आफ्नो अभियान र संगठन बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज (शुक्रवार) आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले २ महिनाको संघर्षबाट एउटा ‘ब्याटल’ राम्रोसँग जितेको भन्दै अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दल जनता समाजवादी पार्टी र नेकपा एमाले भित्रका माधव कुमार नेपाल पक्षसँग सल्लाह लिएर मात्रै सरकारको समर्थन फिर्ता लिने वा के गर्ने सम्बन्धमा कुरा अघि बढाउने तयारी भइरहेको बताए ।

उनले भने, ‘व्यापक जनपरिचालनद्वारा एउटा ब्याटल जितेर प्रतिगमन असफल पारेको तर प्रतिक्रियावादी षडयन्त्र जारी रहेकोले अब आफ्नै बलियो संगठन निर्माणमा लाग्नुपर्नेछ ।’

माईतिघर अगाडी बाटोमा जनताको अगाडी पलेँटी कसेर बसेको बेला लाखौँ जनताले देशभरबाट आन्दोलनमा साथ दिएको बेला आफूलाई फेरि जनतासँग रहेको अनुभूति भएको बताउँदै उनले जनताको लागि विद्रोह गरिरहेका कारण र संसद् पुनर्स्थापना गरेर हामी विद्रोहि क्रान्तिकारी, परिवर्तनकारी शक्ति भएको पुष्टि गर्न पाउँदा खुसी लागेको बताए।

‘देशभरका लाखौँ जनता केन्द्रित भएर एकत्रित भएर निर्णायक ढंगले प्रहार गरेको जस्तै अबको हाम्रो बाटो त्यस्तै कटिबद्ध र एकजुट भएर अघि बढ्नुपर्छ ।’ उनले थपे ।

कार्यकर्तालाई सचेत बनाउँदै उनी भन्छन्, ‘एउटा ब्याटल जितेर रिल्याक्स गर्ने व्यवहार हामीबाट अहिले हुनुहुँदैन । त्यो स्थिती छैन । चनाखो बस्नुपर्ने अवस्था छ । आफ्नै खुट्टामा नउभिकन आफ्नै शक्ति निर्माण गर्ने कुरा संगठन बनाउने कुरामा कटिबद्ध भएर लाग्नुपर्छ । प्रतिक्रियावादीलाई निस्तेज पार्न सकिन्छ । हामीसँग एक्लै बहुमत ल्याउने तागत छ । षडयन्त्रलाई परास्त गर्दै देशलाई संघिय लोकतान्त्रिक शक्ति, नयाँ उपलब्धी हासिल गर्न सक्ने, आधुनिक युगका इतिहास निर्माण गर्न सक्ने तागत छ हामीसँग । तर यो आत्मविश्वास र उर्जालाई संगठन निर्माणका निम्ती संगठित/एकढिक्का बनाएर लैजानुपर्नेछ ।”

प्रचण्ड शक्ति क्षीण भएको भन्नेहरुप्रति संकेत गर्दै उनले भने, ‘हामी माओवादी आन्दोलनबाट आएका नेता कार्यकर्ता मुर्झाएको धुमिलिएको, जनताको विश्वास धर्मराएको हो कि भन्ने धेरैलाई परेको छ । हामी समिक्षा गरेर आम जनतामा प्रचण्ड यति नै हो त भनेको आभाष हटाउन सक्छौँ ।’

उनले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै भने, ‘केपी ओलीको गलत प्रवृत्तिका विरुद्ध लड्नुको विकल्प छैन । माओवादी आन्दोलन र त्यसले पैदा गरेको शक्ति निस्तेज गर्ने विरुद्ध लाग्नुपर्छ भन्ने निष्कर्षमा पुगेर केपीओलीको षडयन्त्रजालबाट मुक्त भएजस्तो भएको छ – मलाई ।’

पूर्व सहकर्मी एमाले पार्टीमा जान तयार भएकोप्रति तिखो ब्यङ्ग्य कस्दै प्रचण्डले सबैखाले डर, धाक, धम्की सहेर अस्तित्वहिन गएर आफ्नो पहिचान छोडेर विरासत त्यागेर भाग्नुभन्दा धिक्कार केहि होईन। मानव हुनुको गर्व आस्थाको विचारको लागि लड्नु र बलिदानी प्राप्त गर्नु हो । विचरा ! मलाई साथीहरुको दया लाग्छ भन्दै पूर्व एमालेका नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालसँगको सम्बन्धका कारण यो दुई पक्ष मिलेर कम्युनिष्टहरुको ठूलो शक्ति बनाउने उनले उद्घोष समेत गरे ।

उनले थपे ‘पुस ५ गतेदेखि फागुनसम्म आन्दोलन गर्दा संगठन निर्माणको आधार भयो । हामी कुराकानीमा नै छौँ । बिग्रेका कुच्चेकालाई फकाउँछु भन्दा हालत खराब भयो । वैचारिक संघर्ष भयो । अब नयाँ तवरबाट अघि बढ्नुपर्छ । फेरिपनि भन्छु । अरुको सहारामा होईन, आफ्नै तागत, आफ्तै मेहनत, आफ्नै संगठन बनाउने काममा लाग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?