पोखरा- बेगनास जल उपभोक्ता संस्थाको १५ औँ वार्षिक साधारण सभाका अवसरमा बेगनास सिँचाइलाई व्यवस्थित गर्दै उत्पादनसँग जोड्नुपर्नेमा जोड दिइएको छ । बेगनास सिँचाइ आयोजनाअन्तर्गत करिब ५ सय ८० हेक्टर क्षेत्रफलमा पाँचवटा शाखाबाट वितरित पानी पोखरा महानगरपालिकाका २९, ३०, ३१ र ३२ वडाका विभिन्न क्षेत्रमा किसानले उपभोग गर्दै आएका छन् ।
महानगरपालिकाका विभिन्न वडा क्षेत्रमा सिँचाइ भइरहेको बेगनास सिँचाइलाई व्यवस्थित गर्दै सर्वसाधारणलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै शुक्रबार आयोजित कार्यक्रमका वक्ताले नहर क्षेत्रमा रहेका अनियन्त्रित संरचनालाई व्यवस्थित गर्दै अघि बढ्नुपर्ने बताए ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका अध्यक्ष दीपक कोइरालाले बेगनास सिँचाइलाई व्यवस्थापन गर्दै उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।नहर क्षेत्रका अनियन्त्रित संरचनाको व्यवस्थापन गर्दै दीर्घकालीन योजनाका साथ अघि बढ्न सकेमा उत्पादनसँगै स्थानीयको आयआर्जनमा समेत वृद्धि गर्न सकिने उहाँले बताउनुभयो ।
सिँचाइ डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले क्षतविक्षत र अतिक्रमित नहरलाई व्यवस्थित गर्नेतर्फ स्थानीय उपभोक्ता जागरुक बन्नुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया