के हो नागरिक बचतपत्र ? यसकारण गरिन्छ निष्काशन

लोकपथ
0
Shares

काठमाडौं – नागरिक बचतपत्र मध्यम तथा दिर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका नागरिक बचतपत्र ५, १० र १२ वर्षे अवधिका यस्ता बचतपत्र निष्काशन गरिँदै आएको छ । नेपाल सरकारले आवश्यकतानुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ भने नेपाल राष्ट्र बैंकले निष्काशन गर्छ ।
उद्देश्य : 
अर्थतन्त्रमा छरिएर रहेको स–सानो बचत रकम परिचालन गर्न सर्वसाधारण नेपाली नागरिकहरूलाई उचित प्रतिफल सहितको सुरक्षित लगानी गर्ने अवसर प्रदान गरी देश विकासको निमित्त वित्तीय साधन जुटाउनु यस बचतपत्रको मुख्य उद्येश्य हो ।

निष्काशन प्रक्रिया : 
नागरिक बचतपत्र तोकिएको अवधिभित्र ओभर द काउन्टर प्रक्रियाबाट निष्काशन गरिन्छ ।
बिक्री खुला, बन्द र निष्काशन मिति : 
नागरिक बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्काशन खुला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशित गरिन्छ ।
अवधि र कुपन (ब्याज) दर : 
नागरिक बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याज दर नेपाल सरकारले तोकिदिए बमोजिम हुने गर्दछ ।
खरिदकर्ता : 
नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्ने व्यवस्था छ ।
खरिद गर्न सकिने रकम : 
घटीमा १० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई १० हजार रूपैँयाले भाग गर्दा निःशेष भाग जाने अंकमा नागरिक बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिन्छ ।
बिक्री प्रवन्धक :
प्राथमिक निष्काशनको समयमा उपत्यका बाहिरका राष्ट्र बैंकका कार्यालय र बजार निर्माता बिक्री प्रबन्धक रहने व्यवस्था छ ।
आवेदन फारम : 
प्राथमिक निष्काशनको समयमा आवेदन फारम नेपाल राष्ट्र बैंकको वेबसाईटबाट डाउनलोड गरी वा उपत्यका बाहिरका राष्ट्र बैंकका कार्यालय वा बजार निर्माता मार्फत् उपलब्ध हुन्छ ।

आवेदन फारम र रकम पेश गर्ने स्थान : 
नागरिक बचतपत्र खरिद आवेदन फारम र खरिद गर्न चाहेको रकम देशभरका बजार निर्माताका साथै राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयमा पेश गर्न सकिन्छ ।

आवेदनसाथ पेश गर्नुपर्ने कागजात : 
नागरिक बचतपत्र खरिद गर्नको लागि आवेदन साथ नागरिकताको प्रतिलिपि, नाबालकको नाममा खरिद गर्ने भए नाबालकको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा तोकिए बमोजिमका अन्य कागजात पेश गर्नु पर्दछ ।

बाँडफाँड : 
आह्वान रकम भन्दा कम वा बराबर आवेदन परेमा माग अनुसार र आह्वान रकम भन्दा बढी रकमको लागि आवेदन प्राप्त हुन आएको अवस्थामा खुला बजार सञ्चालन समितिको निर्णयानुसार बाँडफाँट गरिन्छ ।

खण्डित अवधिको ब्याज : 
आवेदन साथ रकम बुझाएको मिति देखि निष्काशन मिति भन्दा अघिल्लो दिनसम्मको बचतपत्रको लागि तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज प्रदान गरिन्छ ।

दोस्रो बजार कारोबार : 
नागरिक बचतपत्रको दोस्रो बजार कारोबार देशभरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरू मार्फत् गर्न सकिन्छ ।
सूचना : 
नागरिक बचतपत्र निष्काशनको सूचना राष्ट्र बैंकको वेवसाइट राष्ट्रिय स्तरका दैनिक पत्रिका तथा अनलाइन पत्रिकाहरूमा प्रकाशित गरिन्छ ।
प्रमाणपत्र : 
सफल आवेदनकर्तालाई प्रमाण स्वरूप तोकिएको ढाँचामा प्रमाणपत्र उपलब्ध गराइन्छ । यस्तो प्रमाणपत्र प्रमिशरी नोट वा स्टककोरूपमा आवेदन पेश गरेको कार्यालयबाट उपलब्ध गराइन्छ । आवेदन फारममा नै प्रमिशरी नोट लिने कि स्टक लिने हो खुलाउनु पर्दछ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट नै प्रदान गरिने व्यवस्था छ ।
ब्याज तथा साँवा भुक्तानी : 
नागरिक बचतपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिन्छ भने तोकिएको मितिमा साँवा भुक्तानी गरिन्छ ।
ब्याज गणना विधि : 
नागरिक बचतपत्रको लागि निर्धारित ब्याज हिसाब गर्दा ३६० दिन बराबरको एक वर्ष र ३० दिन बराबरको एक महिना मानी गणना गर्नु पर्दछ ।
आयकर सम्बन्धी व्यवस्था : 
नागरिक बचतपत्रमा गरिएको लगानीबाट आर्जित ब्याज आम्दानीमा आयकर लाग्दछ ।
प्रयोग : 
नागरिक बचतपत्रको प्रमाणपत्र भुक्तानी मिति अगावै यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन दिन पाइने व्यवस्था छ ।
फाइदा : 
नागरिक बचतपत्रमा लगानी गर्दा ६/६ महिनामा ब्याज पाइने, चाहेको समयमा बिक्री गर्न वा धितो राखी कर्जा लिन सकिने, लगानी रकमको जोखिम नहुने र अप्रत्यक्ष रूपमा देश विकास कार्यमा संलग्न हुन पाइने हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?