कमला अर्याल/ काठमाडौं – अब बैंकका साना तथा ठूला सबै निक्षेपकर्ताले न्याय पाउने भएका छन् ।
बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) कसिलो बन्दै गएपछि बैंकहरुले धमाधम ब्याजदर बढाइरहेका छन् ।
बैंकले साधारण बचतदेखि मुद्धति निक्षेपमा ब्याजदर बढाएपछि बैंकका साना तथा ठूला दुवै निक्षेपकर्ताले न्याय पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा ४० अर्ब रुपैँया बराबरको मात्रै तरलता छ ।
पछिल्ला केहि महिना यता बैंकहरुले आक्रामक रुपमा लगानी बढाएकाले प्रणालीमा तरलतको चाप परेको छ । जसको असर ब्याजदरमा परेको छ । तरलता करिलो भएको असर बैंकको अन्तर बैंक ब्याजदरमा पनि परेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अन्तर बैंक कारोबार बढेर ३ ५ पुगेको छ ।
ब्याजदर उकालो लागेसँगै सबै प्रकारका निक्षेपको ब्याजदर बढ्ने राष्ट्र बैंकले जनाएको छ । ‘अब मुद्धति तथा साना सबै निक्षेपकर्ताले न्याय पाउँछन् ।’ राष्ट्र बैंक सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले भने । राष्ट्र बैंकको पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर पुसमा ०.१४ प्रतिशत रहेको छ । २०७६ पुसमा १७६ प्रतिशत थियो । तरलता कसिलो बन्दै गएकाले अन्तर बैंक ब्याजदर पनि माथि उक्लँदै जाँदा सबै प्रकारका निक्षेपकर्ताले न्याय पाउने भएका हुन्।
केही वाणिज्य बैंकहरुले चैत १ (आइतबार) देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् भने कतिपय बैंकहरु ब्याजदर सार्वजनिक गर्ने तयारीमा छन् । कर्जाको ब्याजदर बढेसँगै साधारण निक्षेपको ब्याजदर पनि बढ्ने अनुमान गरिएको छ। बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर त बढाएकै छन् । प्रणालीमा तरलता कम हुन थालेपछि बैंकहरुले आकर्षक ब्याजदरमा निक्षेप तान्न थालेका छन्। विगतका वर्षहरुमा पनि बैंकहरुले पुस–माघ ताका तरलता कम भएका बेला आकर्षक ब्याजकदरमा निक्षेप तानातान गर्थे । यस वर्ष पनि प्रणालीमा तरलता कम हुँदै गएपछि बैंकहरुले निक्षेप तान्न आकर्षक ब्याजदर सार्वजनिक गरिरहेका छन् ।
कुमारी र नेपाल एसबिआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । कुमारी बैंकले चैत १ गतेदेखि लागू हुने गरी बैंकले मुद्दतिको ब्याज दर बढाएको छ । बैंकले तीन महिनादेखि एक वर्षसम्म अवधिको मुद्दति निक्षेपको ब्याज आधा प्रतिशत बिन्दुले बढाएको छ । ६ प्रतिशतको ब्याजलाई बैंकले साढे ६ प्रतिशत पु–याएको छ । यो व्यक्तिगत मुद्दतिकर्तालाई दिने ब्याज हो । बैंकले संस्थागत मुद्धतिको ब्याजदर अझै बढीले बढाएको छ। बैंकको नयाँ ब्याजदर अनुसार तीन महिनाभन्दा माथिका सबै संस्थागत मुद्दति निक्षेपको ब्याज ७ प्रतिशत पु-याएको छ। यसअघि बैंकले ३ महिनादेखि ६ महिनासम्मको ब्याज ४.७५ प्रतिशत, ६ महिनादेखि एक बर्षसम्म ५.२५ प्रतिशत, पाँच बर्षसम्मकोमा ६.७५ प्रतिशतसम्म ब्याज थियो । बैंकले बचत खाताको र ऋणको ब्याजदर भने बढाएको छैन । त्यसैगरी नेपाल एसबीआई बैंकले बचत खातामा न्यूनतम ०.२५ प्रतशितदेखि अधिकतम ३.१६ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ । माघ महिनामा बैंकको आधारदर ७.३१ प्रतिशत छ । कर्जा लगानी गर्दा सो आधारदरमा १.२५ प्रतिशतदेखि ५ प्रतिशतसम्म लिन सक्छ ।
कोरोना भाइरस ‘कोभिड-१९’ का कारण गत फागुनदेखि नै बैंकिङ क्षेत्र प्रभावित भएको थियो । कोरोनाको संक्रमण बाट जोगिन भन्दै सरकारले चैत ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको थियो । त्यसबेला उद्योग, व्यवसाय, कलकारखाना लगायत सम्पूर्ण क्षेत्र ठप्प थिए । जुन बेला बैंकहरुले कर्जा लगानी गर्न सकेनन् । बैंकिङ क्षेत्रमा २०० अर्ब भन्दा बढी तरलता थुप्रिएर बस्यो । तर सबै क्षेत्र ठप्प भएकाले बैंकहरुले लगानी गर्ने ठाउँ नै भएन । लामो समय बन्द भएकाले जनजीवन प्रभावित भएपछि सरकारले विस्तारै लकडाउन खुकुलो बनाउँदै गयो । त्यसपछि विस्तारै बैंकहरुले लगानी बढाउन थालेका हुन् । तर पछिल्लो समय बैंकहरुले गरेको आक्रमक लगानी अस्वभाविक भएको राष्ट्र बैंक स्रोतको भनाई छ । ‘बैंकको लगानीको रफ्तार हेर्दा प्रणालीमा समस्या आउँछ भनेर पहिले नै मैले भनेको हुँ ।’ स्रोतले भन्यो ।
विगतका वर्षहरुमा पनि यस्तो समस्या आइरहँदा बैंकहरु सजक रहनुपर्नेमा आक्रामक देखिएको स्रोतको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया