काठमाडौं – आज (आइतवार) बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक विभिन्न ६ वटा एजेण्डा तय गर्दै भोलीसम्मका लागि स्थगित भयो । आजको बैठकमा पार्टीको वर्तमान अवस्थाका बारेमा प्रदेश कमिटीका इन्चार्ज तथा सहइन्चार्जहरुले रिपोर्टिङ गरे।
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेको जानकारी दिए । तर त्यो रिपोर्टिङका क्रममा ति नेताहरुले नेतृत्वलाई अझै सुध्रन भन्दै ‘सटायर’ समेत गरेको जानकारी प्राप्त भएको छ ।
लोकपथलाई प्राप्त जानकारी अनुसार बैठकमा तल्लो तहका नेता कार्यकर्तामा भएको निराशा र त्यसले पार्टीमा पार्ने दूरगामी असर र प्रभावका विषयमा समेत बैठकमा बोलेका वक्ताहरु रुष्ट सुनिएका थिए ।
उनीहरुले ‘केपी ओली छोडेतापनि ओली प्रवृत्ति आफ्नो पार्टीमा हावी रहेको’ र अझै आफ्ना नेतृत्वमा देखेका कारण बदलिन सुझाव समेत दिए ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्वको आलोचना गर्दै तल्लो तहमा माओवादी कमजोर भएको भन्दै गुनासो गरेको स्रोतले बतायो ।
७ वटै प्रदेश प्रतिनीधित्व गरेर बोलेका उनीहरुले माओवादीले सबैलाई जोडेर जान छलफल गर्नु पर्ने सुझाव दिएसँगै बैठकले विभिन्न ६ वटा एजेण्डाहरु तय गरेको छ ।
आजको बैठकले शहीदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा तय गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया