काठमाडौं । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् ।
कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक एनसीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको एनसीसी बेंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियत पूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति उक्त संस्थासँग सम्झौता गरेको एनसीसी बैंकले जनाएको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेशराज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार जिल्ला भरिका दुग्ध उत्पादक किसानहरूको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्न संघ अन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थाहरूसँग आवद्ध दुग्ध उत्पादक व्यक्ति र किसान र संस्थाहरूलाई सहुलितपूर्ण कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।
कसले कतिसम्म कर्जा पाउने ?
पशुपालक व्यक्ति र किसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँ सम्म पाउने भएका छन् भने कृषि तथा पशुपालन व्यवसाय गर्ने गरी दर्ता भएका प्राइभेट फार्म वा साझेदारी व्यवसायलाई प्रति फार्म र व्यवसाय अधिकतम १ करोड रुपैयाँ सम्म पाउने बैंकले जनाएको छ ।
त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कृषि तथा पशुपालन व्यवसाय गर्ने प्रति कम्पनीलाई अधिकतम ५ करोड रुपैयाँ सम्म पनि सम्झौतामा उल्लेख छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका बिभिन्न सहकारी संस्थाहरुसँग प्रत्यक्षतथा अप्रत्यक्ष रुपमा आबद्ध ४० हजार भन्दाबढी किसानहरु लाभान्वित हुन सक्ने अपेक्षा राखिएको बैंक ले जनाएको छ ।
यो कर्जा योजनामा सहभागी हुने सेवाग्राहीलाई कुनै पनि सेवा शुल्क नलाग्ने बैंकले स्पष्ट पारेको छ ।
सम्झौता अनुसार यस्तो कर्जा कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने र कर्जाकालागि संघले सहजीकरण गरिदिने बैंकले बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया