के हो वित्तीय नीति ? यस्ता छन् यसका उद्देश्यहरु

लोकपथ
266
Shares

काठमाडौं – सरकारको राजश्व, खर्च र ऋणसँग सम्बन्धित नीतिलाई वित्त नीति भनिन्छ । वित्त नीति सरकारको बजेटको रुपमा सार्वजनिक गर्ने गरिन्छ । अर्को अर्थमा भन्दा अर्थतन्त्रको व्यवस्थापन गर्न सार्वजनिक खर्च व्यवस्थापन गर्ने, कर निर्धारण गर्ने तथा ऋणको व्यवस्थापन गर्ने नीतिलाई नै वित्तीय नीति भनिन्छ ।

वित्तीय नीतिलाई समग्रमा आर्थिक नीतिको महत्वपूर्ण खम्बाको रुपमा मानिन्छ। त्यसैले वित्तीय नीति मुलुककै अर्थतन्त्रलाई डो¥याउने नीति हो । त्यस्तै, मुलुकले निर्दिष्ट गरेको आर्थिक उद्देश्य हासिल गर्न सरकारद्वारा सार्वजनिक आय र व्ययतर्फ अपनाउने रणनीति र कार्यनीति नै वित्तीय नीति हो । यो नीतिले सार्वजनिक खर्च, सार्वजनिक राजश्व, सरकारी बजेट तथा सार्वजनिक ऋणलाई दिशानिर्देश समेत गर्ने गर्छ।

सरकारले प्रत्येक वर्ष जारी गर्ने बजेट मार्फत् वित्तीय नीतिको कार्यान्वयन हुने गर्छ । वित्तीय नीतिका उपकरणहरुमा बजेट, राजश्व परिचालन, खर्च व्यवस्थापन र सार्वजनिक ऋण बजेट,कर,खर्च र ऋण पर्दछन् । यिनै उपकरणहरुको प्रयोग गरेर सरकारले मुलुकको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने निर्क्यौल गर्छ ।

यस्ता छन् वित्तीय नीतिका उद्देश्यहरू : 

वित्तीय नीतिको उद्देश्यको कुरा गर्दा मुलुकको आर्थिक अवस्था तथा सरकारको भूमिका अनुसार फरक–फरक हुने गर्दछ । खास गरी वित्तीय नीतिले मुलुकको आर्थिक वृद्धिलाई कसरी वृद्धि गर्ने र त्यसलाई कसरी दिगो बनाइराख्ने भन्ने उदेश्य राखेको हुन्छ । त्यस्तै, यस नीतिले सार्वजनिक खर्च व्यवस्थापन गर्ने,सार्वजनिक ऋण व्यवस्थापन गर्ने लगायतका उदेश्य राखेको हुन्छ । समग्रमा वित्तीय नीतिका उदेश्यहरुलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

आर्थिक वृद्धिलाई उच्च र दिगो पार्नु

समष्टिगत रुपमा आर्थिक स्थायित्व तथा स्थिरता कायम गर्नु

सामाजिक न्यायको स्थिति कायम गर्नु

सार्वजनिक खर्च व्यवस्थापन गर्ने

सार्वजनिक ऋण व्यवस्थापन गर्ने

बेरोजगारी र गरिबी समस्या समाधान गर्ने

आय तथा सम्पत्तिको वितरण गर्ने

बचतमा वृद्धि र पुँजी निर्माण गर्ने

मुद्रास्फीतिको समस्या समाधान गर्ने

मूल्य नियन्त्रण गर्ने

कर प्रणालीमा सुधार गर्ने

उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी केन्द्रित गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?