प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि देउवाले अग्रसरता लिएनन्

लोकपथ
0
Shares

कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको गठबन्धन बनाउन अग्रसरता नलिएपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि तत्कालै कुनै निर्णय नलिने संकेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाको एउटा धारले देउवालाई उनकै निवास बूढानीलकण्ठ पुगेर औपचारिक रूपमै प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि देउवाले अग्रसरता नलिएको उनीहरूको गुनासो छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले गत शुक्रबार देउवालाई प्रधानमन्त्री स्विकार्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसअघि नै प्रस्ताव गरिसकेका थिए । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको धारले भने अहिल्यै कसैलाई पनि समर्थन गर्न नहुने फरक धारणा राख्दै आएको छ ।

सत्ता समीकरणमा निर्णय लिनुअघि निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस र थरुहट अँन्दोलनका क्रममा परेका नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सुनिश्चित हुनुपर्ने माग उनीहरूले गरेका छन् ।

त्यसपछि मात्रै सत्ता समीकरणमा गठबन्धन गर्न सकिने उनीहरूको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन कार्यदल नै बनाएर छलफल गरिरहेका बेला कांग्रेस सभापति देउवाले भने एकपटक पनि आफूहरूलाई बोलाएर छलफल नगरेको जसपाका नेताहरूको भनाइ छ । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?