मुलुकको आर्थिक प्रतिवेदन सार्वजनिक : बढ्दो आयातले चुलिँदै चालु खाता घाटा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात  (माघ) महिना सम्मको मुलुकको आर्थिक अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार केहि समय धनात्मक रहँदै आएको चालु खाता बढ्दो आयातका कारण पुनः दवाबमा पर्न थालेको छ ।

चालु खाता

राष्ट्र बैंकले सार्वजनिक गरेको सो विवरण अनुसार माघ महिनासम्म चालु खाता १०१ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १०६ अर्बले घाटामा रहेको थियो ।

शोधनान्तर स्थितिगत माघसम्म शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।व्यापारघाटा

आर्थिक वर्ष २०७७ /७८ को सात महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेर ७ खर्ब ३३ अर्ब ७३ करोड कायम भएको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो । यस अवधिमा निर्यात–आयात अनुपात ८.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ रहेको थियो । त्यस्तै,यस अवधीमा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १०.० प्रतिशत र ४.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४७.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै,यस अवधीमा कुल वस्तु आयात ०.०१ प्रतिशतले वृद्धि भई ८०३ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७.१ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२.४ प्रतिशत र १०.८ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चामल, कच्चा तेल,सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर,कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

रेमिट्यान्स

चालु आर्थिक वर्षको माघ महिनासम्म रेमिट्यान्स (विप्रेषण) १०.९ प्रतिशतले वृद्धि भएको छ । यस अवधीसम्म ५ खर्ब ६७ अर्ब ७० करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

त्यस्तै,यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाल अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।

वैदेशिक लगानी

प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्येक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रहेको थियो ।

विस्तृत मुद्राप्रदाय

चालु आर्थिक वर्षको सात महिनामा विस्तृत मुद्राप्रदाय १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत विस्तृत मुद्राप्रदाय २३.३ प्रतिशतले बढेको छ । यस अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) ९७ अर्ब ३६ करोड (७.३प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति २१ अर्ब ६१ करोड (२.२ प्रतिशत) ले बढेको थियो । यस अवधिमा सञ्चित मुद्रा ८.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ५.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा सञ्चित मुद्रा २२.९ प्रतिशतले बढेको छ ।

मुद्रास्फीति

माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । यस अवधीमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधीको तुलनामा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तुहरु उपसमुहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ । माघ महिनासम्म काठमाडौं उपत्यकामा २.१२ प्रतिशत,तराईमा २.७८ प्रतिशत, पहाडमा ३.३० प्रतिशत र हिमालमा २.०५ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको सोही अवधीमा यी क्षेत्रहरुमा क्रमशः ७.५८ प्रतिशत, ७.२९ प्रतिशत, ५.४६ प्रतिशत र ५.२८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जा

चालु आर्थिक वर्षको माघ महिनासम्म यस बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा ८२ अर्ब २९ करोड लगानीमा रहेको छ । माघ मसान्तसम्ममा ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ११२ अर्ब ३ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३५ हजार ८ सय १३ ऋणीलाई प्रवाह भएको ८२ अर्ब १८ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३२ हजार ३ सय ९३ ऋणीको २९ अर्ब ८४ करोड कर्जा बक्यौता रहेको छ ।

निक्षेप परिचालन 

चालु आर्थिक वर्षको माघ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.४ प्रतिशतले बढेको छ । त्यस्तै,यस अवधीमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३३.९ प्रतिशत र ४८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३१.६ प्रतिशत र ४९.९ प्रतिशत रहेको थियो । माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.० प्रतिशत रहेको छ । गत वर्षको सोही अवधीसम्म यस्तो निक्षेपको अंश ४४.९ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह

माघसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रततर्फ प्रवाहित कर्जा १७.३ प्रतिशतले बढेको छ । यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १४.० प्रतिशतले,बैंकहरुको कर्जा प्रवाह १७.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.४ प्रतिशतले बढेको छ । त्यस्तै,माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । गत वर्षको सोही अवधीमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.१ प्रतिशत र १३.४ प्रतिशत रहेको थियो ।

यस्तै,यस अवधीमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २५.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ११.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १३.१ प्रतिशतले बढेको छ ।

यस अवधीमा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १६.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५३.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १८.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.९ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?