काठमाडौं- स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब एटलान्टालाई ३–१ ले हराएको रियलले समग्रमा ४–१ को जीत निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा रियल १–० को शान्दार जित निकालेको हो ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियलको जीतमा करिम बेन्जेमा, कप्तान सर्जियो रामोस र मार्को एसेन्सियोले गोल गरे । एटलान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।प्रतिस्पर्धात्मक खेलको ३४औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्ता दिलाए । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरेका थिए ।
६०औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे । टोलोइले पेनाल्टी बक्समा भिनिसियस जुनियरलाई लडाएपछि प्राप्त पेनाल्टीमा रामोस चुकेनन् ।८३औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै एटलान्टालाई खेलमा फर्कने संकेत दिए । तर मैदन प्रवेश गरेको चार मिनेटमै सब्सिच्युट मार्को एसेन्सियोले गोल गर्दै दोस्रो लेगमा रियललाई ३–१ को सहज जित दिलाए ।
एसेन्सियोले ८५औं मिनेटमा गोल गरेका थिए ।त्यसैगरी गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले पनि जीत निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिटीले बोरुसिया मन्चनग्लाडबाकलाई २.० ले हराउँदै समग्रमा ४.० को जीत निकालेको हो । सिटीको जीतमा केभिन डि ब्रुयना र इल्काए गुन्डोगानले १-१ गोल गरेका थिए । दुवै गोल सुरुवाती २० मिनेटभित्रै भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया