काठमाडौं । महोत्तरीको पिपरा गाँउपालिका–५ बाट गत फागुन १० गते अपहरणमा परेका दम्पत्ति मुसाफिर झा र गीता देवी झाको अवस्था पत्ता लगाउन नसकेको भन्दै ५० संघ–संस्थाले आन्दोलनको चेतावनी दिएका छन् ।
उनीहरूले मंगलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी तीन दिनभित्र सीआइबी टोली गठन गरी घटनाको निष्पक्ष छानबिन गर्न पहल नगरिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।
झा दम्पत्ति सुतेको अवस्थामै वेपत्ता पारिएका थिए । उनीहरू सुतेको खाट, झुल र पलङ पनि फेला परेको छैन । यसले महोत्तरीको पिपरामै खैलाबैला मच्चिएको छ ।
मैथिल ब्राम्हण महासभा नेपाल तथा राष्ट्रिय इन्जिनियर्स संघका अध्यक्ष ई। भगवान झाले तीन दिनभित्र घटनाको निष्पक्ष छानबिन गर्न सीआइबीबाट टोली गठन नगरिए चरणबद्ध आन्दोलनमा जाने बताए । ५० वटा संघ–संस्थाले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय घेराउदेखि कडा आन्दोलन गर्न बाध्य हुने उनको भनाइ थियो ।
अध्यक्ष झाले महोत्तरीबाट पूर्वसरकारी कर्मचारी दम्पतीको अपहरण भएको २३ दिन पुग्दा पनि सरकार र प्रशासनले केही काम गर्न नसकेको आरोप लगाए । ‘उहाँहरूको सास नभए पनि हामीलाई लास चाहियो,’ उनले भने, ‘उहाँहरूको अपहरण गर्न जग्गाको कारण हुन सक्छ ।’ उनले तीन दिनभित्र घटनाको निष्पक्ष जाँच समिति गठन गरी अपहरित दम्पतीको यथार्थ स्थिति सार्वजनिक गर्न माग गरे । ‘अपहरणको मुद्दामा राजनीतीकरण नहोस् भनेर सीआईबी जाँचको माग गर्दै हामीले आन्दोलन गरिरहेका छौं,’ उनले भने, ‘सीआईबी अनुसन्धान सुरु गरियोस्, अपहरित दम्पतीको खोजी गरेर बाहिर ल्याइयोस् र बेपत्ता पार्नेलाई सार्वजनिक गरियोस् भन्ने हाम्रो मुख्य माग हो ।’
राष्ट्रिय इन्जिनियर संघका महासचिव ई दीपेन्द्रकुमार शाहले अपराधीलाई सरकारले कडाभन्दा कडा सजाय दिन माग गरे । उनले भने, ‘कि सास कि लास चाहियो । झाले दम्पत्ति अपहरणमा पर्नुको कारण मोही जग्गाको साक्षी बस्नु रहेको जिकिर गरे । उनले मंगलबार बेलुका ४ बजेदेखि ६ बजेसम्म माइतीघर मण्डलामा दम्पतीको न्यायका लागि धर्ना कार्यक्रम गर्ने जानकारी दिए ।
मैथीली महिला समाजकी अध्यक्ष अन्जला झाले झा दम्पत्तिलाई प्रशासनले खोजी गर्न नचाहेको आरोप लगाइन् । उनले भनिन् ‘प्रशासनले चाहेको भए खोजी नीति छिट्टै हुन्छ ।’ तर प्रशासनले अलटाल गरेकाले खोजीनीति नगरेको बताइन् । उनले दम्पतीको खोजीका लागि सीआईबी समिति गठन गर्न सरकारसँग माग गरिन् ।
सहोडवा समाज काठमाडौंका अध्यक्ष वशिष्ट नारायण मिश्रले झा दम्पत्ति अवस्थामा सार्वजनिक गर्न माग गरेका छन् । झा दम्पत्ति जुन सुकै अवस्थामा भएपनि सरकारले छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्नेमा उनको माग थियो ।
मैथिल ब्राम्हण महासंभा नेपालका महासचिव इन्द्रदेव मिश्रले कार्यक्रम संचालन गर्दै प्रेस विज्ञप्ति पढेर सुनाएका थिए । महोत्तरीका ७५ वर्षीय मोसाफिर झा र ७० वर्षीय गीतादेवी झा यही फागुन १० गते घरबाटै सुतिरहेका अवस्थामा अपहरणमा परेका थिए । मोसाफिर झा नेपाल सरकारका पूर्वकर्मचारी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया