काठमाडौं । सामान्यतयाः कुनै एक स्थानबाट कुनै अर्को स्थानमा कुनै पनि प्रयोजनका लागि रुपैयाँ पैसा पठाउने कार्यलाई रेमिट्यान्स विप्रेषण भनिन्छ ।
विशेष गरी रेमिट्यान्स वाह्य देशमा कार्यरत नागरिकहरुले कमाएर आफ्नो देशमा पठाइने पूँजी,नगद वा वित्त हो ।
विदेशमा रहेका कामदारले कमाएर आफ्नो परिवारलाई पठाउने रकम रेमिट्यान्स हो । त्यस्तै बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत् एक स्थानबाट अर्को स्थानमा रकम ट्रान्सफर गरेर पठाउने कार्य रकमान्तर हो । यो स्वदेश (आन्तरिक) र विदेश (बाह्य) दुवै हुन सक्छ । यस्तो रकम औपचारिक माध्यम अर्थात् बैंक तथा वित्तीय संस्था मार्फत् पठाएमा त्यसलाई बैंक ट्रान्सफर भनिन्छ । कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत् स्वदेशमा पठाउने कार्य रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ ।
रेमिट्यान्स पठाउँदा केही सेवा शुल्क तिर्नुपर्ने भए पनि बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू (रेमिट्यान्स कम्पनी) बाट रकमान्तर गर्ने तरिका नै सबैभन्दा बढी सुरक्षित, भरपर्दो र औपचारिक तरिका हो।
अधिकांश विकासशोन्मुख मुलुकहरुको आम्दानीको प्रमुख स्रोत नै रेमिट्यान्स हो । हाम्रो नेपाली अर्थतन्त्र पनि रेमिट्यान्सले धान्दै आएको छ । तर पछिल्ला केही वर्षहरुमा रेमिट्यान्सको वृद्धि झिनो रुपमा मात्रै भएको छ भने वृद्धिदर क्रमशःघट्दै गइरहेको छ ।
चालू आर्थिक वर्षको माघ महिनासम्म रेमिट्यान्स विप्रेषण १०.९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको माघ महिनासम्मको वर्तमान आर्थिक अवस्थाले रेमिट्यान्स वृद्धि भएको देखाएको हो । यस अवधीसम्म ५ खर्ब ६७ अर्ब ७० करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । त्यस्तै,पुस महिनासम्ममा रेमिट्यान्स आप्रवाह ११.१ प्रतिशतले वृद्धि भई ४९५ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो । नेपालमा हरेक वर्ष ७/८ खर्बको हाराहारीमा रेमिट्यान्स भित्रिँदै आएको छ ।
राष्ट्र बैंकले विदेशमा दुख गरेर कमाएको रेमिट्यान्स नेपाल सुरक्षित तरिकाले पठाउन विभिन्न ५१ वटा रेमिट्यान्स कम्पनीहरुलाई अनुमति दिएको छ । यी कम्पनीहरुले अमेरिका, अष्ट्रेलिया, युरोप, कोरिया, जापान तथा खाडी मुलुकहरु साउदी अरेबिया, दुबई, कतार, कुबेत लगायतका विभिन्न मुलुकहरुबाट सुरक्षित तरिकाबाट नेपाल रेमिट्यान्स भित्र्याउँदै आएका छन् ।
औपचारिक प्रणालीबाट रेमिट्यान्स कारोबार गर्दा हुने फाइदा :
औपचारिक माध्ययमबाट पैसा पठाउँदा जसको नाममा पठाएको हो, उसैले सुरक्षित रूपमापैसा प्राप्त गर्दछ । यी माध्ययमबाट पैसा पठाउँदा संस्थामा बचत गर्न सहज हुन्छ ।
बैंक /वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा उक्त संस्थावाट अन्य सुविधा पनि लिन सकिन्छ ।
बैंक/वित्तीय संस्थाबाट वित्तीय कारोबार गर्दा कारोबारको रसिद पाइन्छ । यो रसिद सम्झेर लिनुपर्छ । यसले हिसाब राख्न मद्दत गर्दछ ।
रसिद मात्रै कानुनी रूपमा आय प्राप्त गरेको प्रमाण हो । सम्पत्ति, घरजग्गा आदि जोड्दा आय स्रोतको रूपमा यस रसिदलाई देखाउन सकिन्छ ।
वैदेशिक रोजगारीबाट फर्केपछि सहुलियतपूर्ण कर्जा लिन औपचारिक माध्यमबाट विप्रेषण कारोवार गरेको हुनुपर्छ ।
विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू :
विप्रेषण औपचारिक बैंक तथा रेमिट्यान्स कम्पनीहरूबाट मात्र पठाउने
विप्रेषण गर्दा शुल्क वापत लिइने पैसाको बारे सोधपुछ गर्ने
विप्रेषण पठाएपछि सोको उपयोग उत्पादनशील क्षेत्रमा गर्ने ।
यदि उपभोगमा खर्च गरेमा सो कमाइ उपभोग भइसकेपछि पुनः आम्दानी प्राप्त नहुने हुँदाआम्दानी हुने गरी मात्रै खर्च गर्ने अर्थात् बिहे व्रतबन्ध, जन्मदिवस, पास्नीजस्ता अनुत्पादक कार्यमा सकेसम्म कम खर्च गर्ने
विप्रेषणको उचित प्रयोगःविप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौले बन्न सक्छ । विप्रेषणको धेरै अंश हाम्रो दैनिक खपतमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन ।
विप्रेषणको रकम सकेसम्म उत्पादनमूलक कामका लागि खर्च गर्नु पर्दछ ।
विप्रेषणकैआम्दानीबाट दैनिक घरखर्च चलाउनुपर्ने अवस्था छ भने पनि सकेसम्म कम खर्च गरी धेरै रकम बचत गर्नु पर्दछ । बचतको उक्त रकमलाई आयआर्जन हुने क्षेत्रमा लगानी गर्नु पर्दछ । यसो गर्दा पटक पटक आय आर्जन गर्न धेरै दुःख र जोखिम बोकेर विदेश गइरहनु पर्दैन । देशभित्रै केही काम गरी परिवारसँगै हाँसी खुशी बस्न सकिन्छ।
शिक्षा
शिक्षाले सीप आर्जन गरी भविष्यमा थप आय सिर्जनामा मद्दत गर्ने भएकाले शिक्षा एउटा महत्वपूर्ण लगानीको क्षेत्र हो ।
उत्पादनमूलक क्षेत्र
उत्पादनमा वृद्धि गराउने साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, वस्तुपालन,सीप आर्जन, बचत वा शेयर खरिद आदि ।
लगानी
जोखिम कम भएको क्षेत्रमा लगानी, साना व्यापार वा व्यवसाय, बैंङ्क वा वित्तीय संस्थामा बचत वा शेयर आदि ।
अनावश्यक खर्च
चुरोट, रक्सी, पानपराग, जुवा, तास आदि खेलेर गरेको खर्च ।
अनुत्पादक खर्च
आवश्यकताभन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइल, रिचार्ज, देखावटी सामान आदिमा गरेको खर्च ।
अनावश्यक विलासिताका वस्तु
नचाहिएको अवस्थामा मोटरसाइकल, टि.भि., फोन, ल्यापटप, आवश्यकभन्दा बढी विवाह, भोज, चाडवाड आदि ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया