काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
सिन्धुली, काठमाडौं, कपिलवस्तु, कास्की र कञ्चनपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-७ करङडाँडा भित्तास्थित ग्रामिण सडकमा सिन्धुली बजारबाट बासकटेरीतर्फ जाँदै गरेको बा १७ च १११७ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० फिट तल खसेर मंगलवार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार सोही नगरपालिका बासकटेरी बस्ने ६५ वर्षीय रूद्र बहादुर थापा, २ जना महिला र १ जना बालक समेत गरी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालक समेत ८ जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ लगिएकोमा २ जनालाई थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट भक्तपुर जाने सडकमा बा ५ ख १८२ नम्बरको निशान गाडीले प्रदेश ३-०२-०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई मंगलवार साँझ ठक्कर दिंदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका-६ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने २७ वर्षीय सुरज कुईकेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । निशान गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित सडकमा लु ३६ प ४५९८ नम्बरको मोटरसाइकललाई बा १ ग २४२३ नम्बरको गाडीले मंगलवार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कपिलबस्तु शिबराज नगरपालिका बस्ने १९ वर्षीय भुवन पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार शिबराज नगरपालिका-५ बस्ने २१ वर्षीय अमृत रोका मगरलाई उपचारको लागि बुटवलतर्फ पठाइएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका-२ पोखरा-सराङ्कोटस्थित सडकमा सराङ्कोटबाट पोखरातर्फ जाँदै गरेको ग १८ प ४८१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक पर्वत कुस्मा नगरपालिका-७ चुवा बस्ने ३२ वर्षीय माधव गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको साहारा अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पर्वत कुस्मा नगरपालिका-७ बस्ने ३२ वर्षीय गोविन्द गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियास्थित सडकमा महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २४३ नम्बरको विङगर गाडीको पछाडिको टायर पड्किएर मंगलवार राति दुर्घटना हुँदा विङगरमा सवार डडेलधुरा अमरगढी नगरपालिका-५ बस्ने ८१ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको माया मेट्रो हस्पिटल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया