सामाजिक सुरक्षा कोष : कार्यविधि संशोधनपछि आकर्षण बढ्दै

लोकपथ
7
Shares

कमला अर्याल /काठमाडौं – पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आकर्षण बढ्न थालेको छ। सरकारले कोष संचालनको कार्यविधी संशोधन गरेपछि कोषमा आकर्षण बढ्न थालेको हो ।

सामाजिक सुरक्षा कोषको पहिलो चरणमा ल्याएको कार्यविधि प्रभावकारी नभएको भन्दै चौतर्फी विरोध भएको थियो । साथै रोजगारदाता तथा श्रमिकहरु कोषमा आउन आनाकानी गरिरहेका थिए ।

कोषले दिने सेवा सुविधा रोजगारदाताले दिने सुविधा भन्दा कम हुने भएपछि कोषमा जान आनाकानी भइरहेको थियो । तर सरकारले कार्यविधि,२०७५ (दोस्रो संशोधन) कार्यान्वयनमा ल्याएपछि रोजगारदाताको आकर्षण बढेको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए ।

‘कार्यविधी संशोधनपछि धेरै रोजगारदाताहरु आउने प्रतिबद्धता गर्नुभएको छ ।’कार्यकारी निर्देशक ज्ञवालीले लोकपथसँग भने ।

सरकारले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका योजनाहरुमा भएका व्यवस्थाहरु संशोधन गरेपछि बिस्तारै आकर्षण बढेको हो ।

रोजगारदाता र श्रमिकको हितलाई समेटेर संशोधन गरेपछि आबद्ध हुने रोजगारदाताको संख्या बढ्दै गएको कार्यकारी निर्देशक ज्ञवाली बताउँछन् ।

कोष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतबाट सञ्चालित छ ।

कोषका अनुसार सीजी, गोल्छा अर्गनाइजेशन, नोबेल मेडिकल, ट्रिनिटी, डाबर नेपाल, गरूड, गोल्यान समूह, शंकर ग्रुप, टाइगर, युनिलिभर ,वर्ल्ड लिंक, ईसेवा, सूर्य नेपाल, मेडिकेयर, किस्ट मेडिकल, होटल ग्राण्डी, तथा होटल अन्नपूर्ण लगायतका व्यवसायिक संस्थाहरु आवद्ध भएका छन् ।

कोषका अनुसार हालसम्म १३ हजार ५ सय २६ रोजगारदाता, १ लाख १९ हजार ७२ जना योगदानकर्ता आवद्ध भएका छन् । कोषका अनुसार १ नम्बर प्रदेशबाट १ हजार ८ सय ६० रोजगारदाता र १९ हजार ९ सय ५४ जना रोजगारदाता कोषमा आवद्ध भएका छन् ।

प्रदेश २ बाट ५ सय ४९ रोजगारदाता र १३ हजार ७ सय ८२ जना योगदानकर्ता, वाग्मती प्रदेशबाट ९ हजार ८३ रोजगारदाता र १ लाख ४४ हजार ४५० जना योगदानकर्ता, गण्डकी प्रदेशबाट ६१४ रोजगारदाता र ७ हजार १ सय ३८ योगदानकर्ता, लुम्बिनी प्रदेशबाट १ हजार १ सय १७ रोजगारदाता र ६ हजार ५ सय ६९ जना योगदानकर्ता कोषमा आवद्ध भएको कोषले जनाएको छ। त्यस्तै, कर्णाली प्रदेशबाट १ सय ४२ रोजगारदाता र ४ सय ६७ जना योगदानकर्ता, सुदूर पश्चिमबाट १ सय ६१ रोजगारदाता र ७ सय १२ जना योगदानकर्ता कोषमा आवद्ध भएको कोषले जनाएको छ । कोषले हालसम्म ती योगदानकर्ताबाट ४ अर्ब ६९ करोड ४० लाख रुपैँया योगदान रकम संकलन गरेको छ । कोषले योगदान बापतको ४० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै,कोषले हासम्म ४ अर्ब ५९ करोड दाबी भुक्तानी गरिसकेको छ ।

भुक्तानीका लागि २ हजार ३ सय ९३ जनाको दाबी परेको थियो । त्यस्तै,कोषमा १ हजार ८ सय ८४ जनाले औषधी उपचार,स्वाथ्य तथा मातृत्वका लागि दब गरेका छन् भने २ सय ९१ जना आश्रित परिवार सुरक्षाका लागि दाबी गरेका छन् ।

त्यस्तै,कोषले १०१ जनालाई दुर्घटना तथा अशक्तता सुरक्षाका लागि भु्क्तानी गरेको छ । त्यस्तै,१ सय १७ जनालाई उपदानबापत भुक्तानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?