काठमाडौं । चालु आर्थिक २०७७/७८ को माघसम्म संघीय सरकारको कुल राजश्व संकलन ९६.५८ प्रतिशत भएको छ ।
यो संकलन गत आर्थिक वर्षको सोही अवधीको तुलनामा १.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ९८ अर्ब ५२ करोड पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको माघ महिनासम्मको अर्थ बुलेटिनले यस्तो देखाएको हो ।
कुल राजश्वमा कर राजश्व ४ खर्ब ५८ अर्ब १० करोड र गैरकर राजश्व ४० अर्ब ४२ करोड रहेको छ । यस अवधीमा अन्य प्राप्ति सहित कुल प्राप्ति ५ खर्ब ३० अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अन्य कर शीर्षकमा पूर्वाधार सेवाको उपयोग, सडक मर्मत तथा सधार दस्तुर सडक निर्माण तथा सम्हार शुल्क र शिक्षा सेवा शुल्क मात्र संलग्न गरिएको छ । अन्य प्राप्तिमा गत वर्षको नगद मौज्दात र बेरूजु असुली रकम समावेश गराइएको छ ।
चालु आर्थिक वर्षको माघसम्ममा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा भन्सार महशलुमा २१.१ प्रतिशतले वृद्धि भएको छ भने आयकरको संकलनमा ९.६ प्रतिशतले कमी आएको छ ।
त्यस्तै,यस अवधीमा शीर्षकगत लक्ष्यमा आन्तरिक तर्फको मूल्य अभिवृद्धि कर शिर्षकको रावश्व लक्ष्य भन्दा बढी संकलन भएको छ भने अन्य शिर्षकको राजश्व संकलनमा कमी आई समग्र राजश्व संकलनको लक्ष्यको ९०.७ प्रतिशत संकलन भएको छ ।
तथ्यांकअनुसार यस अवधीमा भन्सार विन्दुमा संकलन भएको राजश्व ९.८ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ४१ करोड पुगेको छ भने आन्तरिकतर्फ संकलन भएको रावश्व (अन्य कर सहित) मा ३.८ प्रतिशतले संकुचन भई २ खर्ब ३५ अर्ब ६९ करोड रुपैँया रहेको अर्थ मन्त्रालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया