काठमाडौं । धनगढी एफसीले मुख्य प्रशिक्षकमा तोपे अयोडेजी फुजालाई अनुबन्धित गरेको छ । धनगढीले बिहीवार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकमा नाइजेरियाली प्रशिक्षक फुजालाई अनुबन्धित गरिएको जनाएको छ ।
‘गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले सुपर लिग टिमले हामीले प्रशिक्षकको रुपमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको जानकारी गराउन पाउँदा हर्षित छौं,’ धनगढीले विज्ञप्तिमा भनेको छ ।
फुजाकै नेतृत्वमा मनाङ मर्स्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो । जुन शीर्ष श्रेणीको लिगमा मनाङको कीर्तिमान आठौं उपाधि थियो ।
धनगढीले मार्की खेलाडीको रुपमा विशाल राईलाई यस अघि नै अनुबन्ध गरिसकेको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया