सहुलियतपूर्ण कर्जामा अझै बेथिति : बिना धितो दिँदैनन् बैंकले कर्जा

लोकपथ
14
Shares

कमला अर्याल /काठमाडौं ।  सरकारले कार्यान्वयनमा ल्याएका सहुलियत दरका कर्जामाथि हुने गरेको बेथिति अझै हटेको छैन । बैंकहरु जिम्मेवार नहुँदा सहुलियत दरको कर्जामा भएको बेथिति हट्न नसकेको हो ।

यसअघि कार्यविधीमै विभिन्न समस्या भएको भन्दै तीन पटक सम्म संशोधन गरिएको थियो । संशोधन गरेर बैंकहरुका मागहरु पनि संबोधन गरेपनि सहुलियत दरको कर्जा लक्षित वर्गसम्म पुग्न अझै सकेको छैन । बैंकले कतिपय परियोजना धितो राखेर पाइने कर्जामा समेत जग्गा धितो माग्ने गरेका छन् । विना धितो त बैंकले कर्जा दिनै नमान्ने गरेको पिडित बताउँछन् । चितवन भरतपुर २३ स्थायी घर भएका गोपाल अर्याल हाल पोखरामा व्यवसाय गर्दैछन् ।

उनले आफ्नो व्यवसाय विस्तार गर्न उनीकी श्रीमतीको नाममा महिला उद्यमी कर्जा लिन चाहेका थिए । त्यसैले उनले हिमालयन बैंकसँग सो कर्जाका विषयमा कुरा गरे । बैंकले कर्जा त दिन्छु भन्यो तर धितोको रुपमा जग्गा माग्यो । ‘बैंकले जग्गा धितो विना ऋण नदिने भयो ।’ अर्यालले भने । उनलाई ५ देखि १० लाख रुपैँया कर्जा चाहिएको थियो । महिला उद्यमी शिर्षकको कर्जा एकल वा सामूहिक जमानीमा लिन सकिन्छ । तर बैंकले भने जग्गा धितो माग्ने गरेको पिडितको दाबी छ । उनी अरु बैंकमा पनि सो कर्जाका लागि गएका थिए । तर कोटा सकिएको भन्दै दिन आनाकानी गरेको उनको गुनासो थियो ।

राष्ट्र बैंकले वाणिज्य बैंकका एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत दरको कर्जा अनिवार्य रुपमा दिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै,भरतपुर २३ कै मानबहादुर आचार्यले पनि भैंसी पालनका लागि कर्जा लिन चाहेका थिए । विगत २ वर्षदेखि प्रयास गर्दा पनि उनले कर्जा पाउन सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको माघ सात महिनासम्म बैंकहरुले ८२ अर्ब २९ करोड रुपैँया सहुलियत दरको कर्जा लगानीमा गरेका छन् । यस अवधीसम्म ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ भने १ खर्ब १२ अर्ब ३ करोड रुपैँया कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३५ हजार ८ सय १३ ऋणीलाई प्रवाह भएको ८२ अर्ब १८ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३२ हजार ३ सय ९३ ऋणीको २९ अर्ब ८४ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको यो तथ्यांक हेर्नै हो भने सहुलियतपूर्ण कर्जा प्रभावकारी रुपमा गएको देख्न सकिन्छ । नेपाल राष्ट्र बैंकले नै ‘आफू सुरक्षित रहेर कर्जा देउ’ भन्ने गरेकाले बैंकले यस्तो कर्जामा पनि घर तथा जग्गा धितो राखेर कर्जा दिने गरेका छन् ।

सस्तो ब्याजदरमा कर्जा पाएपछि घर जग्गा धितो राख्न सक्नेहरुले यस्तो कर्जा लिँदा प्रभावकारी रुपमा गएको तथ्यांकले देखाउँछ । तर घरजग्गा नहुनेहरुले धितो राख्न सकेनन् भने कर्जा पाउने संभावना कमै हुन्छ ।

सहुलियत कर्जाका प्रकार /सीमा
सरकारले उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्न कृषि, व्यवसाय, प्राविधीक शिक्षा दलितलाई व्यवसाय गर्न लगायतका क्षेत्रमा सहुलियत पूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।

जसमाः
व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा ५ करोड सम्म

शिक्षित यूवा स्वरोजगार कर्जा ७ लाखसम्म

विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैँया

महिला उद्यमशील कर्जा १५ लाख सम्म

दलित समूदाय व्यवसायिक विकास कर्जा १० लाखसम्म

उच्च र प्राविधीक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैँयासम्म भूकम्प पिडितहरुको निजी आवास निर्माणका कर्जा ३ लाखसम्म

कपडा उद्योग संचालनका लागि ५ करोड रुपैँयासम्म

प्राविधीक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिको लागि २ लाख रुपैँया सम्म

यूवा वर्ग स्वरोजगार कर्जा ५ लाख रुपैँयासम्म लगायत रहेका छन् ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधी, २०७५ तेस्रो संशोधन २०७७ अनुसार यस्तो सहुलियतपूर्ण कर्जाको ब्याजदर बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो कर्जाको ब्याज, कर्जा सूचना शुल्क, ऋणीले बेहोर्नुपर्ने बीमा प्रिमियम र कर्जा सुरक्षण शुल्क भन्दा बाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन नपाइने व्यवस्था गरेको छ ।

के भन्छन् सरोकारवाला निकायहरु ?

लक्षित वर्गसम्म सहुलियत कर्जा पु-याउन राष्ट्र बैंकले हदैसम्मको प्रयास गर्ने राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । ‘लक्षित वर्गमा यस्तो कर्जा नपुगेको धेरै गुनासो आयो भने पोलिसी रिभ्यु गर्न सकिन्छ ।’ सहायक प्रवक्ता पोखरेलले भने ।

त्यस्तै,नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले तोकेअनुसारको सहुलियत दरको कर्जा नपाएमा गुनासो शाखामा गुनासो गर्न आग्रह गरेका छन् । यस्तो उजुरी राष्ट्र बैंकको गुनासो शाखामा गर्न सकिन्छ ।

केहि मानिसहरु निजी गाडी चढेर सहुलियत दरको कर्जा लिन आउने गरेको समेत उपाध्यक्ष उपाध्यायले बताए । त्यस्ता ऋणीलाई भने धितो माग्ने गरेको उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?