काठमाडौं । विश्व बैंकले कोरोनाको खोप तथा स्वास्थ्यलाई सुदृढ गर्न नेपाललाई ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको वित्तिय सहयोग गरेको छ ।
विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत सो सहयोग गरेको हो । यस वित्तिय सहयोगद्वारा समतामुलक वितरण योजनाको माध्यमबाट कम्तिमा एक तिहाई जनसंख्यासम्म खोप को सुविधा विस्तार गर्न सकिने अपेक्षा विश्व बैंकले लिएको छ । ‘यस महामारीले हाम्रा सामु विशाल चुनौति र अनिश्चित वातावरण खडा गरेको छ ।’ मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भने । कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउन विश्व बैंकले सो सहयोग गरेको उनले बताए । यस शिघ्र कदम चाल्नु नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण भएको देशीय निर्देशक हदाद–जर्भोसले बताए ।
गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैंया) बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजनाका लागि सहयोग प्राप्त भएको थियो । त्यसैलाई आधार मानेर विश्व बैंकले यसपाली पनि नेपाललाई सहयोग गरेको हो ।
यस नविन वित्त सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड–१९का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्या बाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ । बाँकी रकमले कोभिड–१९ खोपका पहलहरूलाई सघाउन र कोभिड–१९सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पु-याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ ।’ विश्व बैंकद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
साथै यस अतिरिक्त वित्तपोषणले सामुदायिक संलग्नता र जोखिम संचारमा पनि सहयोग पु-याउनेछ र हाल मौजूद डिजिटल प्रविधिमा आधारित महामारी सम्बन्धि तथ्यांक, निगरानी तथा अनुगमन प्रणालीलाईपनि सुदृढ तुल्याउने विश्व बैंकले जनाउको छ । ‘यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रका लागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्वपूर्ण हुनेछ ।’ विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एशियाका लागि अभ्यास प्रबन्धक गेल रिचर्डसनले भने ।
नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड–१९ खोप सहयोगका लागि पहिलो चरणमा स्विकृत भएका तीन परियोजना मध्ये एक हो । आजै विश्व बैंकको बोर्डले आईडा मार्फत बंगलादेशका लागी ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागी ६ करोड अमेरिकी डलर (अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फन्ड (को ५ करोड डलर र इनर्जी म्यानेजमेन्ट सहयोग कार्यक्रमको ३० लाख डलर सहयोग सहित) अनुमोदित गरेको छ । यस वित्तिय सहयोगका अतिरिक्त विश्व बैंकले दक्षिण एसियाका देशहरूमा न्याय संगत, निश्पक्ष र समता मुलक खोप वितरणको रणनीति डिजाइन र कार्यान्वयनका विविध पक्षहरूमा प्राविधिक सहयोग र ज्ञान साझेदारी कार्यशालाहरू पनि प्रदान गर्दैछ ।
विकासशिल देशहरूका लागि आर्थिक कोष र ज्ञानको सबैभन्दा ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ ।
यस अन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड–१९का खोपहरूको खरिद, वितरण, परिक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि विनियोजित १२ अर्ब डलर रकम समेत पर्दछ । यस वित्तिय सहयोग विश्व बैंक समुह स्तरिय बृहत कोभिड–१९ प्रतिकार्य अन्तर्गत पर्दछ जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीहरूलई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जिविको पार्जन तथा रोजगारीका अवसरहरू कायम राख्न सहयोगी वातावरणको सिर्जना गर्न सहयोग गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया