तनहुँ । वन्यजन्तुलाई वनमै पानीको व्यवस्थापन गर्ने उद्देश्यले डिभिजन वन कार्यालय तनहुँले वनक्षेत्रमा पानी पोखरी निर्माण गरेको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा पानी र आहाराको खोजीमा विशेष गरी चितुवा बस्ती आएर बालबालिकालाई आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले भानु नगरपालिकाको वनक्षेत्रमा पोखरी निर्माण गरिएको हो ।
भानुको सामुदायिक वन क्षेत्रमा १४ वटा पोखरी बनाइएका छन् । जंगलमा पानीको स्रोत मासिँदै गएपछि वन्यजन्तु पानी खोज्दै मानव बस्तीमा आउने भएकाले प्रत्येक सामुदायिक वनमा पोखरी बनाइएको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले बताए । भानुमा पानी र आहाराको खोजीमा चितुवा बस्ती छिर्न थाले, उनले भने, ‘चितुवालाई पासोमा पारेर अन्यत्र स्थानान्तरण गर्नु समाधान नभएको हुँदा उनीहरूको वासस्थानमै पानीका लागि माटो र ढुंगाको गाह्रो लगाएर पोखरी खनिएको हो ।
करिब ११ लाख रुपैयाँको लागतमा १४ पोखरी निर्माण गरिएको र एउटा पोखरी निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ । वन कार्यालयलाई साथ दिँदै अहिले स्थानीय तहले पनि आफ्नै सक्रियतामा सामुदायिक वनमा पोखरी निर्माण गरिरहेका छन् । बन्दीपुर, आँबुखैरेनी गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाले पनि सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण कार्य अगाडि बढाएका छन् । २०७४ फागुन यता चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया