जिउँदै महिलालाई खाडलमा पुरिदिने डोजर चालक पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । गत फागुन २७ गते धादिङमा महिलालाई जिउँदै खाडलमा पुरिदिने डोजर चालक भारतबाट पक्राउ परेका छन् ।

त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा डोजरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।

घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रवार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो ।

हत्यापछि धादिङबाट फरार भएका चालकलाई झण्डै ३ सातापछि भारतको हरिद्वारबाट पक्राउ गरी नेपाल ल्याएको हो । यद्यपि सिआइबीले भने नेपाल भारत सिमाको गड्डाचौकीबाट पक्राउ गरेको दाबी गरेको छ ।

कसरी भागे भारत ?

माटो खन्ने क्रममा जेसिबीको बकेटले लागेर घाइते भएकी सरस्वतीको लाश नै गायब बनाउने नियतका साथ डोजर चालक साविकको सल्यान जिल्ला छायाँ क्षेत्र गाविस वडा नम्बर-९ तथा हालको छत्रेश्‍वरी गाउँपालिका वडा नम्बर ६ रानागाउँका २२ वर्षीय जीवन भन्ने भीमबहादुर बुढाथोकीले डोजरले खाल्डो खनेर गाडेका थिए । घाइते भएकी सरस्वतीलाई जिउँदै गाड्दै गरेको देखेपछि स्थानीयले हारगुहार गर्दै उद्दार गरेका थिए । तर उद्दारका क्रममा उनको मृत्यु भएपछि स्थानीयले डोजरमा आगो लगाएका थिए । सो लगत्तै डोजर चालक बुढाथोकी भने त्यहाँबाट भागेका थिए ।

धादिङबाट भागेर सुरुमा दाङ पुगेका बुढाथोकीले त्यहाँ आफन्तसँग केही रकम मागेर नेपालगञ्ज हुँदै भारत पुगेका थिए । उनी सुरुमा नेपालगञ्जको बाटो हुँदै भारतको हरियाणामा रहेका आफन्तकोमा बस्न पुगेका थिए । काम विशेषले भारत आएका बताएका बुढाथोकी नेपालमा हत्या गरेर भागेको थाहा पाएपछि आफन्तले प्रहरीकोमा आत्मसमर्पण गर्न पनि सुझाएका थिए । तर भीम भने आत्मसमर्पण नगरी त्यहाँबाट पनि भागेर भारतको हरिद्वारमा आएर बस्न थालेका थिए ।

हरिद्वारमै बस्ने क्रममा उनी ४ दिनअघि मात्रै नेपालगञ्ज आएका थिए । नेपालगञ्जको एक होटलमा उनी एक युवतीसँग ३ दिन बसेका थिए । उनको बारेमा प्रहरीले थाहा पाएपछि भने उनी बुधवार नै भारत फर्किएका थिए । मोबाइल लोकेशन र कल डिटेलका आधारमा प्रहरीले पक्राउ गर्नसक्ने भन्दै उनले आफूले प्रयोग गरिरहेको सिम कार्ड भाँची मोबाइलसमेत फुटाएर सोही होटलमा छाडेका थिए ।

बुढाथोकीलाई पछ्याउँदै गएको सिआइबीको टोली होटलमा पुग्नु अगाडि नै उनी त्यहाँबाट भागिसकेका थिए ।  डोजर चालक बुढाथोकीको लाइसेन्ससमेत नभएको पाइएको छ । लाइसेन्स नभएको व्यक्तिले चलाएको डोजरबाट सरस्वतीको मृत्यु भएको कारण उनलाई कर्तव्य ज्यानमै मुद्दा चल्न सक्नेछ । साथै लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिने डोजर मालिकलाई पनि मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

यो पनि : धादिङमा जिउँदै महिलालाई खाडलमा पुरेर डोजर चालक फरार

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?