चितवन । राष्ट्रिय गैंडा गणनाको तयारी अन्तिम चरणमा पुगेको छ। सोमबार अर्थात भोलीबाट गैंडा गणना गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गणना गर्न लागिएको हो। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाइएको छ।
राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु गरिनेछ। यस्तै चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्ज र १९ गते शुक्लाफाँटामा गणना गरिनेछ। हात्तीको प्रयोग गरेर गैंडा गनिन्छ।हात्ती जहाँ पनि पुग्न सक्ने भएकाले यसको प्रयोग बढी हुन्छ। गैंडा गणनामा सहभागी हुने हात्तीको छनोट गरिएको छ।
स्वास्थ्य परीक्षण गरेर गणनामा जाने झन्डै ४० वटा हात्ती तयारी अवस्थामा राखिएको छ। गैंडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ। ‘गणनाका लागि चाहिने गणक, हात्ती र प्राविधिकसहित बन्दोबस्तीको सामग्री तयारीमा लागेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख अणनाथ बरालले जानकारी दिए ।
४० वटा हात्तीमा गणक बसेर निश्चित दूरीमा देखिएका गैंडा गणना गर्छन्। ४० जना मुख्य गणक र वैकल्पिक २० जना हुन्छन्। गणनामा खटिनेका लागि शुक्रबारदेखि आइतबारसम्म सौराहामा तालिम आयोजना गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले गणनाको लागि प्राविधिकसहितका अन्य व्यवस्थापन अन्तिम चरणमा पुगेको बताए। अघिल्लो गणनाको ६ वर्षपछि गैंडा गणना गर्न लागिएको हो। विगतमा हरेक चारदेखि पाँच वर्षको अन्तरमा गैंडा गणना भएको थियो। कोरोना संक्रमणका कारण गत वर्ष गणना हुन सकेन।
सन् २०१५ माभएको गणनाले चितवन निकुञ्जमा सबभन्दा बढी ६ सय ५ गैंडा देखाएको थियो। एकसिंगे गैंडाका लागि चितवन राष्ट्रिय निकुञ्ज दोस्रो ठूलो बासस्थान हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया