काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सेन्ट्रल कन्ट्रयाक्टमा रहेका राष्ट्रिय महिला र पुरुष क्रिकेटरले एक वर्षकै पारिश्रमिक पाउने भएका छन् ।
सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीसँग ६ महिनाको सम्झौता गरेपनि क्यानले एक वर्षकै पारिश्रमिक उपलब्ध गराउने भएको हो ।
क्यानका कोषाध्यक्ष रोशन सिंहले महिला र पुरुष खेलाडीलाई एक वर्षकै पारिश्रमिक उपलब्ध गराउन लागिएको जानकारी गराए । उनले खेलाडीको पारिश्रमिक स्वरुप आईसीसीबाट एक वर्षकै रकम उपलब्ध भईसकेको बताए ।
पहिलो पटक महिला खेलाडीलाई क्यानले आफ्नो सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो । असोज ६ गते क्यानले सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाक्टमा महिला तथा पुरुष दुबै तर्फका खेलाडीको सम्झौता ६ महिनाको रहने जनाएको थियो । तर, क्यानले महिला र पुरुष खेलाडीलाई एक वर्षकै पारिश्रमिक दिन लागेको हो ।
गत असोजको पहिलो साता चितवनमा सबेको क्यानको बैठकले पहिलो पटक २२ महिला खेलाडीको वर्गीकरण गरेको थियो । महिला खेलाडीलाई क्यानले ए , बी’ र सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो ।
महिलातर्फ ए श्रेणीका खेलाडीले १५ हजार, बी ले १२ र सी श्रेणीका खेलाडीले १० हजार मासिक पाउने छन् ।
पुरुषतर्फ ए श्रेणीको खेलाडीले ५० हजार, बी श्रेणीको खेलाडीले ४० हजार र सी श्रेणीको खेलाडीले मासिक ३० हजारको दरले तलब पाउने छन् ।
पछिल्लो सम्झौतामा क्यानले पुरुष खेलाडीको पारिश्रमिक भने बढाएको थियो । क्यानले यसअघि पाउँदै आएको पारिश्रमिकमा ५ हजार रुपैया बढाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया