काठमाडौं- व्यक्तिहरूले वित्तीय स्रोत साधनलाई आफ्नो भलाइको लागि प्रभावकारी रूपमा प्रयोग गर्न हासिल गर्ने ज्ञान तथा शिपको रूप नै वित्तीय साक्षरता हो।
यसले वित्तीय सेवा उपलब्ध गराउनेहरूलाई समेत उनीहरूको सेवा वा उत्पादनहरूको (प्रोडक्ट) बारेमा राम्ररी बुझ्न, उक्त उत्पादनसँग जोडिएको जोखिमको घनत्व एवं गहिराइको पहिचान गर्न र त्यसलाई व्यवस्थापन गर्न तथा उनीहरूका ग्राहक (उपभोक्ता) को वास्तविक आवश्यकतालाई पहिचान गरी आफ्ना उत्पादनहरूलाई परिमार्जन गर्न सहयोग पु-याउँछ । वित्तीय साक्षरताले समग्र वित्तीय प्रणालीमा विश्वासको अभिवृद्धि गर्दछ र सहभागितामा वृद्धि गर्न मद्दत गर्दछ।
नेपालमा वित्तीय साक्षरता आज सबै स्तरका मानिसहरूलाई अत्यन्त आवश्यक देखिएको छ । उच्च शिक्षा हासिल गरेका ठूला ओहोदाका मानिसमा समेत कतिपय वित्तीय कारोबारको पूर्ण ज्ञान नभएको स्थिति छ । उपयुक्त वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर आर्थिक दुर्घटना हुन गई ठूलो वित्तीय क्षति समेत व्यहोर्नुपर्ने र समाजमा नकारात्मक असर पर्ने अवस्था पनि देखिएको छ ।
यद्यपि, मानिसहरूको उमेर समूह, शैक्षिक योग्यता, आर्थिक अवस्था आदिका कारण विभिन्न वर्गका मानिसहरूका लागि फरक– फरक वित्तीय शिक्षा आवश्यक हुने अवस्था आउन सक्छ । वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान जस्तैः बजेट निर्माण गर्ने, आम्दानी र खर्चको विवरण तयार गर्ने, बचत गर्ने तथा ऋण लिने प्रक्रिया र बीमाका बारेमा धेरै मानिसलाई कम जानकारी हुन्छ । यसले गर्दा उनीहरू अनावश्यक रूपमा ऋणमा डुब्ने, श्रम शोषणमा पर्ने तथा आफ्ना स्रोत र साधनको अनुत्पादक क्षेत्रमा प्रयोग हुन सक्ने जस्ता सम्भावना हुन्छ ।
त्यसैले न्यून आयस्तर भएका व्यक्तिहरूलाई पैसाको उचित व्यवस्थापन गर्न, पूँजी निर्माणको लागि सहयोग गर्न, उनीहरूको सुरक्षा तथा जीवनमा उपलब्ध विभिन्न अवसरको पहिचान गर्न, पैसाको महत्व बुझ्दै आफ्नो समाजमा भएको सार्वजनिक सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्न सक्षम बनाउन वित्तीय शिक्षाको महत्व हुन्छ ।
मानिसहरू परनिर्भरताबाट आत्मनिर्भरतामा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । यस क्रममा वित्तीय व्यवस्थापनको क्षेत्रमा उनीहरूको भूमिका बढ्दै गएको हुन्छ । उनीहरू आफ्नो भविष्य तथा आफ्नै परिवारको भविष्य निर्माण गर्दै छन् । उनीहरूको समाज र परिवारप्रति बढ्दै गएको भूमिका तथा आर्थिक जिम्मेवारीका कारण उनीहरूलाई वित्तीय लक्ष्य निर्धारण गर्न, बचत, ऋण, जोखिमबाट बच्न (बचतको प्रयोग, बीमा) तथा समग्र रूपमा वित्तीय व्यवस्थापनबारे जानकारी दिने कार्य वित्तीय साक्षरता हो । यसले भविष्यमा वित्तीय व्यवस्थापन सम्बन्धी निर्णय कसरी गर्ने भन्ने बारेमा सहयोग गर्नेछ।
आम्दानी र खर्चको विश्लेषण
हामीसँग अहिलेका आवश्यकता पूरा गर्न र भविष्यमा चाहिने खर्चका लागि बचत गर्न पर्याप्त पैसा छैन । त्यसैले हाम्रो लागि मुख्य उपाय भनेको आम्दानी बढाउने र खर्च घटाउने हो । ऐच्छिक खर्चहरूलाई सकेसम्म कम गर्नु पर्छ र भविष्यमा परि आउन सक्ने खर्चको लागि अहिलेदेखि नै सोच बनाउनु पर्दछ । आफूसँग भएको थोरै पैसाको अधिकतम सदुपयोग गर्न र पैसा खर्च गर्नु अगावै आफ्नो खर्चको प्राथमिकीकरण गर्नाले पैसाको चुहावट कम हुन जान्छ।
व्यक्तिगत रकम व्यवस्थापन
दैनिक जीवनमा आफ्नो लागि आवश्यक पर्ने इच्छा र आवश्यकताका वस्तुहरूको खरिद बिक्रीको लागि भविष्यप्रति सचेत भएर गरिने आम्दानी र खर्च नै व्यक्तिगत रकम व्यवस्थापन हो ।
व्यक्तिगत रकम व्यवस्थापन निर्धारण गर्नुपर्ने प्रमुख कारणहरू
-आफ्नो लागि चाहिने इच्छा र आवश्यकताका वस्तु खरिद गर्न प्रशस्त पैसा जम्मा गर्न ।
-आफ्नो र आफ्नो परिवारको आर्थिक अवस्थालाई हेरचाह गर्न सक्ने हुन ।
-आफूसँग पैसा नभएको कारणले आफूले इच्छा गरेको वस्तु खरिद गर्न नसक्ने नहुन ।
-व्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरू
-वित्तीय लक्ष्यहरूको निर्धारण गर्ने ।
-आफ्नो स्रोत र साधनहरूमा बाँच्ने ।
-ऋणको सदुपयोग गर्ने ।
-ऋणको भाखा ननघाउने ।
-खर्च गर्न सतर्कता अपनाउने ।
-आफ्नो लगानी र प्रतिफलको तुलना गर्ने ।
-समय सँगसँगै पैसाको मूल्यको तुलना गर्ने ।
-चक्रवृद्धि ब्याजको असर बारेमा थाहा पाउने ।
-लगानी गर्दा आवश्यक जोखिम वहन गर्ने ।
– लगानी र सम्पत्तिको विविधीकरण गर्ने ।
व्यवस्थापन गर्ने बानी कसरी बसाउन सकिन्छ ?
-एक व्यक्ति वा संस्थाको लागि आफूसँग भएको पैसाको सदुपयोगबाट पूरा गर्न सकिने
-परियोजनाहरू के के हुन सक्छन् भनेर पूर्व अनुमान गर्नु नै वित्तीय लक्ष्य हो ।
-लक्ष्य लामो पनि हुन सक्छ, छोटो पनि हुन सक्छ।
५ वर्षपछि घर बनाउन लिएको ऋण कसरी तिर्ने भनेर तालिका बनाएर पूरा गर्न र एक महिनापछि तिर्नुपर्ने ऋणको किस्ताबन्दी पूरा गर्न परिवारका सबै सदस्यले अलि बढी मेहनत गरेर प्रत्येक महिना रकम छुट्याउन सकिने प्रावधानलाई २ वटा उदाहरणका रूपमा लिन सकिन्छ । यसले गर्दा आजको भोलि नगद जम्मा गरेर खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन पाउँदैन जुन कुरा हाम्रो दैनिकीको लागि एकदमै झन्झटिलो हुन सक्छ।
-आफूलाई र आफ्नो परिवारमा आगामी महिना वा वर्षमा कुन कुन वस्तु तथा सेवा सदुपयोग गरेर परिवारको सदस्यको आवश्यकता र चाहना पूरा गर्न सकिन्छ भनेर सूची बनाई छलफल गर्ने गर्नुपर्छ ।
-सूची तयार गरेपछि प्रत्येक वस्तु तथा सेवाको अनुमानित रकम लेख्नुपर्छ । उक्त रकम जम्मा गर्न परिवारका सबै सदस्यले कसरी योगदान पु-याउन सकिन्छ भनेर छलफल गर्नुपर्छ।
-चर्को ब्याजमा पैसा लिएर कहिले पनि लक्ष्य पूरा गर्नतिर लाग्नु हुँदैन । यसले दीर्घकालीन रूपमा सधैंँ ब्याज र किस्ता तिर्न बाध्य पार्दछ । लक्ष्य परिपूर्ति भए पनि मनमा शान्ति हुँदैन ।
-आफ्नो लक्ष्य अनुसार पैसा खर्च भएको छ या छैन भनी हप्ता, दस दिनमा आपूmले सूची बनाएको आम्दानी र खर्चको तालिका दाँज्ने गर्नाले अनुशासित भइन्छ।
-सबैभन्दा राम्रो, प्रत्येक वित्तीय लक्ष्य पूरा गर्दैगर्दा आइपर्ने सहजता र चुनौती के के हुन सक्छन् भनेर परिवारका सबै सदस्यसँग छलफल गर्नुपर्छ । यसबाट उत्तरदायित्व वहन गर्न सक्ने क्षमता बढ्छ ।
– एउटा कुनै लक्ष्य पूरा भएन भनेर दिक्दारी मान्नुभन्दा अर्को लक्ष्यसम्म कसरी पुग्न सकिन्छ भनेर आफ्नो जाँगर र आँट बढाउनु उपयुक्त हुन्छ ।
वित्तीय लक्ष्य पूरा गर्न अत्यधिक खर्च गर्नेबानीलाई कसरी कम गर्न सकिन्छ ?
– आफ्नो खर्च गर्ने बानी सम्झेर धेरै जनालाई टाउको दुख्छ । कतिजनाले बाध्यताले खर्च कम गर्न सक्नुभएको हुन्न, कतिपयले पहिलादेखिको आफ्नो खर्च गर्ने बानीलाई सुधार्न सकिराख्नु भएको हुन्न । तर जे जे भए पनि आफ्नो पैसा कसरी कम खर्च गर्ने भनेर प्रतिज्ञा लिनु नै ठूलो अनुशासन हो ।
– हामीले सिकेको नराम्रो आर्थिक संस्कार, व्यवहारमा बढ्दै आएको खर्चालु जीवनशैली र मुख्यतया भावनात्मक समस्याहरूले गर्दा अत्यधिक खर्च गर्ने बानी हुर्कँदै आएको हुन्छ ।
-अत्यधिक खर्च गर्ने बानीबाट मुक्त भएमा आफ्नो परिवारमा सबैभन्दा ठूलो खुसीको अनुभव वा भावना साँट्न सकिन्छ । खर्च गर्ने बानीमा परिवर्तन गर्न सकेको खण्डमा पैसा बचत गर्न सकिन्छ ।
– आफूलाई अत्यावश्यक परेको वस्तु बजारमा खोजमेल गरेर र पैसा बुझेर मात्र किन्न सकियो भने अनावश्यक महङ्गीबाट बच्न सकिन्छ।
– सेल फोन प्रयोग गरेर कुराकानी गर्न कम गरेको खण्डमा बिल कम गर्न सकिन्छ।
– बालबालिकालाई खर्च गर्ने गतिविधिहरूबाट छुट्कारा गराउने हो भने खर्च घटाउन सकिन्छ।
– कुनै पनि वस्तु तथा सेवा छिट्टै उपभोग गरेर सकिन्छ भने उक्त वस्तु तथा सेवा खरिद गर्दा ध्यान दिनुपर्छ।
-लामो समयसम्म टिकाउ हुने र उपभोग गरिसकेपछि प्रतिफल दिने वस्तु तथा सेवा खरिद गर्दा खर्च बच्छ।
– आफ्नो अगाडिका पारिवारिक लक्ष्यहरूमा कसको योगदान कति हुने भनेर छलफल गर्न तर्कहरू गर्न सकिन्छ, झगडा होइन ।
– समृद्ध परिवारको लागि निश्चित वित्तीय लक्ष्य हुन जरूरी छ । पारिवारिक लक्ष्य वा व्यक्तिगत लक्ष्य भन्नाले केही वर्षको÷महिनाको अवधिमा प्राप्त गर्न सकिने वस्तु तथा सेवा हो ।
वित्तीय योजना सहितको लक्ष्यका फाइदाहरू
-तपाईंलाई भविष्यको लक्ष्य सम्झाउँदै खर्चको प्राथमिकीकरण गर्न मद्दत पुग्दछ।
– खर्च गर्न र बचत गर्न अनुशासित बनाउँदछ ।
– अनावश्यक र अकल्पनीय तरिकाले हुने नगद अभावलाई हटाउँछ।
– तपाईंलाई वित्तीय तनावमुक्त हुन मद्दत पुग्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया