काठमाडौं । देशका विभिनन स्थानमा भएको सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । मनाङ, भक्तपुर, झापा, बारा, सप्तरी, सर्लाही र चितवनका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको हो ।
मनाङको नासों गाउँपालिका-२ खोत्रोस्थित सडकमा ध १ ख ५९२ नम्बरको ट्रक सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्रकमा सवार नासो गाउँपालिका-४ बस्ने ३५ वर्षीया मनिषा गुरुङ लगायत ३ जनाको घटनास्थलमै, २ जनाको जिल्ला अस्पताल लमजुङ र १ जनाको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-१० चितापोलस्थित सडकमा बा ४ ख ९८१० नम्बरको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई शनिवार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाचौं हात्तीगौंडा बस्ने सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-११ घर भएकी ५९ वर्षीया सिता कुमारी कार्कीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको दमक नगरपालिका-४ चिया बगानस्थित सडकमा प्रदेश १-०२-००१ क १०८२ नम्बरक टिपरले प्रदेश १-०२-०४४ प ८१३३ र को२८ प ११३६ नम्बरको मोटरसाइकललाई शनिवार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश १-०२-०४४ प ८१३३ नम्बरको मोटरसाइकलमा सवार मोरङ रतुवामाई नगरपालिका-८ बस्ने २३ वर्षीय अनिष कोईराला र मोटरसाइकल चालक २३ वर्षीय निरन बस्नेत रहेका छन् । दुर्घटनामा घाइते भएका अनिषको लाईफ लाईन अस्पताल दमकमा र बस्नेतको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते को ८ प ११३३ नम्बरको मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार २ जनाको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको आदर्शकोटवाल गाउँपालिका-४ ईनर्वामालस्थित सडकमा ना८ ख ३४५६ नम्बरको टिपरले बीआर ०५ के ०९६ नम्बरको मोटरसाइकललाई शनिवार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक रौतहट फतुवाबिजयपुर नगरपालिका-८ बस्ने ३६ वर्षीय अजय यादवकी ७ वर्षीया छोरी आकृती यादवको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई कलैया अस्पताल हुँदै थप उपचारका लागि बिएण्डबि अस्पताल ललितपुरतर्फ पठाइएको छ । हाल फरार टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको राजविराज नगरपालिका-१५ खाडो पुल नजिक सडकमा अनटेस्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई शनिवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका-४ बस्ने १५ वर्षीय विवेक कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार हनुमाननगर कंकाली नगरपालिका-१० इनर्वा बस्ने १५
वर्षीय कौशल मंडललाई सोही अस्पताल हुँदै थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ ।
सर्लाहीको बामगती नगरपालिका-५ स्थित सडकमा बा ७० प ६२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३८ वर्षीय दिल बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि हरिवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
चितवनको भरतपुर महानगरपालिका(४ यज्ञपुरीचोकस्थित सडकमा ना ७ ख ५९८८ नम्बरको टिपरमा ना ५० प ९८४८ नम्बरको मोटरसाइकल ठोक्किएर शनिवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१० आईसल्याण्ड जंगल रिसोर्टमा काम गर्ने भोजपुर ट्याम्केमैयुम गाउँपालिका-३ घर भएका १९ वर्षीय नियामा ओहाङ राईको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको
क्रममा मृत्यु भएको हो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया