काठमाडौं । आम्दानी भन्दा खर्च बढी गर्नुपर्ने तर पहिले देखिको बचत नभएको अवस्थामा खर्च गर्न पैसाको अभाव हुन्छ। चाहेको काम सम्पन्न गर्न कसैसँंग रकम लिनुपर्ने हुन्छ । केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने अरूसँग लिएको रकमलाई ऋण भनिन्छ । ऋणलाई कर्जा पनि भनिन्छ ।
कुनै पनि उद्यम वा व्यवसाय गर्न वित्तीय स्रोतको व्यवस्था गर्नुपर्ने हुन्छ । गाईभैँसी पाल्न, रिक्सा किन्न, सानो वा ठूलो व्यापार गर्न, घरेलु उद्योग तथा अन्य उद्योगधन्दा स्थापना गर्ने लगायतका कुनै पनि आय आर्जन हुने काम गर्न पैसा चाहिन्छ। पैसा आफूसँग नहुन पनि सक्दछ । यसरी आवश्यक पर्ने पैसा परम्परागत रूपमा साहु महाजनहरूले उपलब्ध गराउने गर्दथे र तिनले ऋणीसँग चर्को ब्याज लिने गर्दथे । यो चलन अहिले पनि यदाकदा व्यवहारमा रहेको देखिन्छ । यस मार्फत् कतिपय साहुहरूले अन्यायपूर्वक ऋणको अङ्क बढाउने र नाजायज रूपमा शोषण समेत गर्दथे वा गर्दछन् भन्ने पनि सुनिन्छ । तर आधुनिक र विकसित समाजमा यस्तो पैसा ऋणका रूपमा बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउँछन् ।
ऋणका स्रोतहरू के – के हुन् ?
ऋणका विभिन्न स्रोतहरू छन् ।
बैंक तथा वित्तीय संस्था :
बैंक तथा वित्तीय संस्था भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो । बैंक तथा वित्तीय संस्थाले घर, जग्गा, सुन वा अन्य सम्पत्ति धितो लिएर ऋण प्रदान गर्छन् । यसै गरी, लघुवित्त वित्तीय संस्थाहरूले विभिन्न व्यवसायिक कार्यका लागि सामूहिक जमानीमा लघुकर्जा प्रदान गर्दछन् । बचत तथा ऋण सहकारी संस्था हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत तथा ऋण सहकारी सस्थाहरुले व्यवसायिक वा निजी प्रयोजनको लागि धितो सहित वा बिना धितोको ऋण प्रदान गर्छन् ।
व्यवसायिक ऋण प्रदानकर्ता :
व्यवसायिक ऋण प्रदानकर्ता संस्थाहरूले लाभ हुने व्यवसायमा लगानी स्वरूप ऋण प्रदान गर्छन् । यस प्रकारको ऋणको ब्याज, धितो र समयसिमा लगानीकर्ता र व्यवसायीबीचको सहमतिमा निर्धारण हुन्छ ।
साथीभाइ वा परिवार :
साथीभाइ, परिवार वा इस्टमित्रहरू पनि आवश्यक ऋणको स्रोत हुन सक्छन् । यस प्रकारका ऋण कम खर्चिलो, सहज र बिना धितोको हुन सक्छ ।
सरकारी वित्तीय सहयोग :
उर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण प्रदान गर्ने व्यवस्था समेत रहेको छ । यस प्रकारको ऋणको लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनुपर्छ ।
औपचारिक र अनौपचारिक ऋण :
औपचारिक ऋण भन्नाले बैंक वा वित्तीय संस्थाबाट लिइएको कर्जा वा ऋणलाई बुझिन्छ । औपचारिक कर्जाका धेरै फाइदाहरू छन् । अनौपचारिक ऋण भनेको परिवार, साथीभाइ वा गाउँमा साहु तथा महाजनसँग लिने ऋण हो । अनौपचारिक ऋण छिट्टो र झन्झट रहित किमिसले पाइन्छ तर यसका बेफाइदहरू पनि छन् ।
औपचारिक र अनौपचारिक ऋणका फाइदा र बेफाइदा देहाय अनुसार छन्।
कस्तो कार्यको लागि ऋण लिने :
ऋण चुक्ता गर्दा ब्याज सहित तिर्नुपर्ने हुन्छ । त्यसैले ऋण लिँदा तिर्न सक्ने र आवश्यक पैसा मात्र लिनुपर्छ । हामी व्यापार गर्न ऋण लिन्छौँ भने त्यसले आम्दानी वृद्धि गर्छ र हामी ऋण तिर्न सक्छौँ । हाम्रो कुल आम्दानी वृद्धि गर्न मद्दत गर्ने कार्यको लागि मात्र ऋण लिनुपर्छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु अगाडि बैंक तथा वित्तीय संस्थामा गएर राम्रोसँग बुभ्mने र सौदाबाजी गर्ने बानी बसाउनु पर्छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राखि राख्नु पर्दछ । ऋण लिनुअघि देहायका विषयमा जानकारी लिएर मात्र ऋण लिने सम्बन्धी निर्णय गर्नुपर्छ ।
ऋण प्रकारहरू :
ऋण धेरै प्रकारका हुन्छन् । आफूलाई आवश्यक पर्ने ऋण प्राप्त गर्नुअघि बैंक वा वित्तीय संस्थाहरूले कस्ता खालका ऋण प्रदान गर्छन्, तिनको ब्याजदर तथा भुक्तानी गर्ने अवधि कति छ भन्ने कुरा बुझ्नुपर्छ। व्यक्तिगत ऋण निजी सम्पत्तिलाई धितो राखेर प्राप्त हुने ऋणलाई व्यक्तिगत कर्जा वा ऋण भनिन्छ ।
व्यवसायिक कर्जा नियमित व्यवसायिक कार्यको लागि निश्चित समयमा चुक्ता गर्नुपर्ने ऋण नियमित ऋण हो । यस्तो ऋण व्यवसायलाई नै धितो राखेर पाइन्छ । कृषि कर्जा कृषि व्यवसाय र कृषिजन्य उत्पादनको लागि प्राप्त हुने ऋण कृषि ऋण हो । यस बाहेक परियोजनालाई धितो राखेर व्यवसायिक कृषि कार्यका लागि पनि बैंक तथा वित्तीय संस्थाले कृषि ऋण प्रदान गर्दछन्।
सहुलियतपूर्ण ऋण व्यवसायिक रूपमा कृषि तथा पशुपन्छीजन्य व्यवसायका लागि, महिला उद्यमीहरूका लागि, विदेशबाट फर्केका युवाहरूका लागि, दलित समुदायको विकासको लागि, शिक्षित युवा स्वरोजगारका लागि, उच्च तथा व्यवसायिक शिक्षा आर्जन गर्नेहरूका लागि नेपाल सरकारले ब्याजदरमा सहुलियत दिएर व्यवस्था गरेको ऋणलाई सहुलियतपूर्ण ऋण भनिन्छ । यस्तो सहुलियतपूर्ण ऋण आवश्यक प्रक्रिया पूरा गरेपछि ऋणको लागि निवेदन दिने निवेदकलाई बैंक तथ वित्तीय संस्थाहरूबाट उपलब्ध हुने व्यवस्था छ।
यस बाहेक अरू शैक्षिक ऋण, खास विषयमा विज्ञता हासिल गरेका व्यक्तिलाई प्रदान गर्ने ऋण आदि थुप्रै प्रकारका ऋणहरू बैंक र वित्तीय संस्थाहरूले प्रदान गर्दछन् । बैंक तथा विभिन्न संस्थाको आफ्नो कर्जा तथा लगानी योजना अनुसार फरक–फरक विशेषता भएका फरक फरक प्रकारका ऋण पनि उनीहरूले प्रदान गर्ने गरेका छन् ।
ऋण कति लिन सकिन्छ ?
ऋण दिन सक्ने संस्थाले वा व्यक्तिले दिने भयो भन्दैमा धेरै ऋण लिनु हुँदैन । ऋण कति लिने भन्ने कुरालाई निम्न कुराहरूले प्रभाव पार्दछन् :
ऋणले आफ्नो आवश्यकता र इच्छा पूरा गर्न खोज्नु हुँदैन ।
आफ्नो मासिक आम्दानीभन्दा बढी ऋणको किस्ता तिर्नुपर्ने छ भने त्यसले ठूलो समस्या निम्त्याउँदैछ भन्ने बुभ्mनुपर्छ ।
ऋण लिएर व्यवसाय गर्ने योजनामा हो भने पनि व्यवसायबाट आम्दनी हुन समय लाग्न सक्छ । सचेत हुनुपर्छ ।
ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरु :
सजिलैसँग ऋण मिलाउन सक्छु भन्नेको कुरा पत्याउनु हुँदैन ।
“स्पेसल अफर” भनेर ऋण दिनेका सर्तहरू के के छन् बुझ्नु पर्छ ।
याद गर्नुपर्ने कुरा : आजको अफर भोलि रहन्छ त ?
ऋण दिने संस्था वा व्यक्तिले दिने ऋणको सम्झौतापत्र राम्रोसँग पढ्नुपर्छ । परिवारका सदस्यलाई पनि बुझाउनु पर्छ । आफूले ऋण सम्झौतापत्र प्रस्टसँग नबुझेसम्म सम्झौतापत्रमा हस्ताक्षर गर्नु हुँदैन ।
कसैको जमानत बस्नु अगाडि वा अरूलाई जमानत बस्न आग्रह गर्नुपूर्व आफूले आफूलाई नै सोध्नुपर्छ, ठिक गरेको छु या छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया