काठमाडौं । कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमवार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नया“ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो ।
पछिल्ला गतिविधि र धारणा हेर्दा कांग्रेस तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । उसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित छ ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ‘मुलुकलाई जटिल राजनीतिक अवस्थाबाट निकास दिनुपर्छ’ भन्ने विषयमा सामान्य छलफल भए पनि बैठक क्रियाशील सदस्यता विषयमा बढी केन्द्रित भएको जानकारी दिए ।
‘बैठकमा राजनीतिकभन्दा बढी क्रियाशील सदस्यता विषयमा छलफल केन्द्रित भयो,’ पौडेलले भने ।बैठकमा आगामी १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता विवरण विषयमा मात्रै छलफल भएको नेता रमेश लेखक बताए । बैठकमा तत्काल नयाँ सरकार गठन विषयमा कुनै छलफल नभएको पनि आवश्यक परे कांग्रेस वैकल्पिक सरकार दिन सधैं तयार रहेको उनले बताए ।
‘कांग्रेस प्रतिपक्षी दल हो, आवश्यकता परे कांग्रेसले वैकल्पिक सरकार दिन सक्छ तर अहिले नै स्थिति परिपक्व बनिसकेको छैन,’ नेता लेखकले बैठकपछि पत्रकारसँग भने । बैठकमा कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताबारे भएको प्रगतिबारे नेतृत्वलाई जानकारी गराएको छ । लेखक समिति संयोजक हुन् ।यो खबर आजको राजधानी दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया