काठमाडौं । सेनाले निर्माण गरिरहेको काठमाडौं–तराइमधेस द्रुतमार्ग आयोजनाका अनियमितता र उत्पन्न समस्या विषयमा संसद् विकास तथा प्रविधि समितिले अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभा लेखा समितिले हाल द्रुतमार्ग दुई ठेक्कामा अनियमितता भएको आशंकामा कागजात झिकाएर अध्ययन गरिरहेको हो ।
संसद्कै विकास तथा प्रविधि समितिले पनि त्यहाँ देखिएका समस्या अध्ययन गर्न उपसमिति बनाएको छ । आयोजनाका २५ र २७ अर्बको दुई ठेक्का प्रक्रियामा अनियमितता भएको उजुरीपछि संसद् लेखा समितिले छानबिन गरिरहेको छ । लेखाले रक्षा मन्त्रालयसँग ठेक्का सम्बन्धित सबै कागजात मागेर विशेषज्ञमार्फत नै अध्ययन गरिरहेको हो ।
विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले सांसद गणेश पहाडीको संयोजकत्वमा अध्ययन उपसमिति बनाएको छ । समितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य छन् । समितिलाई दुई महिनाभित्र आयोजनाबारे अध्ययन गर्न ‘म्याण्डेड’ दिइएको छ ।
बैठकमा सेनाले आयोजनाको मुख्य समस्याका रूपमा खोकनाको जग्गा मुआब्जालाई औंल्याएको छ । छलफलमा आयोजना प्रमुख विकास पोखरेलले द्रुतमार्ग आयोजनामा हालसम्मका प्रगति र समस्या विषयमा सेनाकातर्फबाट जानकारी गराएका छन् । यो खबर आजको राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया