कोरोनाको डरले भारतबाट फर्किँदै नेपालीहरु

लोकपथ
0
Shares

टेकसिँह धामी/धनगढी-भारतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै नेपालीहरु स्वदेश फर्किन थालेका छन् । भारतका केहि प्रदेशमा लकडाउन गरिएपछि रोजगारीमा रहेका नेपालीहरु घर फर्किन लागेका हुन् ।

कैलालीको गौरीगंगा नगरपालिकाका वीरेन्द्र थापा रोजगारीका लागि भारत पसेको ४ महिनामै घर फर्किएका छन् । भारतमा होटलमा काम गर्दै आएका उनी कोरोनाको संक्रमण बढ्न थालेपछि घर फर्किएको बताउँछन् । ‘भारतमा कोरोना ह्वात्तै बढेको छ,’ उनले भने, ‘फेरि लकडाउन हुने हल्ला छ, त्यसैले हामी घर फर्किएका हौँ ।’

कोरोनाको डरले गत चैतमा मात्रै घर फर्किएका उनी मंसिरमा पुनः रोजगारीका लागि भारत गएका थिए । ‘असारमा घर फर्किने बेला १ महिनासम्म भारतको पलियामा थुनिएको थिएँ,’ उनले भने, ‘त्यसैले अहिले समयमै घर फर्किएको हुँ ।’

सीमामा हेल्थ डेस्क स्थापना

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि उनी मात्रै हैन, कैलालीको गौरीफन्टा नाका हुँदै दैनिक सयौँ नेपाली घर फर्किएका छन् । सुदूरपश्चिममा कोरोना जोखिम बढ्न नदिन कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ ।

सुदूरपश्चिममा संक्रमण फैलिन नदिन सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्कमार्फत भारतबाट फर्किने नेपालीको एन्टिजेन परीक्षण गरिरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

उपमहानगरले भन्यो, “स्वास्थ्य सुरक्षा सतर्कता बढाउ”

गर्मी बढेसँगै फेरि कोरोना भाइरस सक्रिय बन्न थालेपछि धनगढी उपमहानगरले स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । उपमहानगरले भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले उताबाट यहाँ आउनेका कारण संक्रमण फैलिन सक्दै भन्दै सचेत हुन आग्रह गरेको हो ।

उपमहानगरले संक्रमण बढ्न सक्ने भएकाले भीडभाडमा जाँदा अनिवार्य सामाजिक भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।

३ जनामा कोरोना संक्रमण पुष्टि

गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड सम्पर्क व्यक्ति सिद्वराज भट्टले जानकारी दिए ।
भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल आउनेको संख्या बढेको छ । यो सँगै कोरोना संक्रमित फेला परे कहाँ राख्ने भन्ने अन्यौलता समेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?