काठमाडौं । कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिकाकी २२ वर्षीया कमला देवकोटालाई बसले ठक्कर दिएपछि उनको मृत्यु भएको हो । मृत्यु भएपछि आफन्तहरुले पूर्वपश्चिम राजमार्गको लम्की सडकखण्ड अवरुद्ध पार्नुका साथै ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिएपछि उनको मृत्यु भएको हो । मृतकको शव ईलाका प्रहरी कार्यालय लम्कीको गेटमा राखेर आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालय लम्कीभित्र पसेर तोडफोड गर्नुका साथै डिउटीमा रहेका प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर गरेको बताएको छ ।
‘घटना भएपछि हामीले चालकलाई नियन्त्रणमा लियौँ । तर स्थानयिहरुले ईलाका प्रहरी कार्यालय लम्कीभित्र पसेर तोडफोड गर्नुका साथै डिउटीमा रहेका प्रहरीमाथि हातपात गर्न खोज्नुभयो । प्रहरी कार्यालय जलाउनु भयो । हामीले भिड नियन्त्रणमा लिन केही सेल अश्रुग्यास फायर गर्यौँ र अझै भिड नियन्त्रणमा नआए पछि हवाई फायर गर्यौँ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक हिक्मत थापाले लोकपथलाई बताए ।
‘अहिले लम्की क्षेत्र निकै तनावग्रस्त रहेको छ, स्थानीयले गरेको ढुंगामुढाबाट सशस्त्र प्रहरीका डिएसपी र प्रहरी निरीक्षकसमेत घाइते भएका छन् ।’ प्रहरी निरीक्षक थापाले बताए ।
उनले सो सडक खण्ड भएर चल्ने सम्पूर्ण सवारी साधनहरु अवरुद्ध भएको बताए । साथै अहिले मृतकका परिवारसँग कुराकानी भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया