काठमाडौं । चीनको हुवेई प्रान्तको वुहान शहरबाट गत वर्ष (२०१९ को डिसेम्बर) अन्तिम साताबाट फैलिएको भनिएको कोरोना भाइरस ‘कोभिड – १९’ का कारण सिंगो विश्व झण्डै एक वर्ष लामो कष्टप्रद अवस्थामा गुज्रियो ।
यो समाचार तयार पार्दासम्म कोरोना भाइरस ‘कोभिड – १९’ का कारण विश्वभर २७ लाख ४६ हजार ३ सय ११ जनाको मृत्यु भएको छ भने १२ करोड ४८ लाख ६ हजार ९ सय ५८ जना संक्रमित भएका छन् ।
तीव्र गतिमा फैलने प्रकृतिको यो भाइरसले विश्वका हरेकजसो देशले लकडाउन घोषणा गरे ।
मानिसहरु लामो समय क्वारेन्टाईनमा बसे । आईशोलेसन सेन्टरमा बसे। लाखौँ मानिस कोरोना भाइरसको आक्रमणबाट थलिएर आईसियू र भेन्टिलेटरमा पुगे । यसैको जोखिमबाट बच्न सावधानीस्वरुप सिंगो विश्व नै बन्धनमा रह्यो । जनधनको ठूलो क्षति गरेको यो भाइरसविरुद्धको खोप विश्वभरबाट खोजी भयो । खोप पनि बन्यो । परिक्षण भयो । अहिलेपनि विश्वका धेरै देशहरु परिक्षणपछि सफल भएका खोपको प्रयोग गरिरहेका छन् । राष्ट्रप्रमुखले समेत खोप लगाउँदै नआत्तिकन खोपको प्रयोग गर्न अनुरोध गरिरहेको बेला फेरि विश्वको लागि अर्को डरलाग्दो परिस्थिती सिर्जना भएको छ ।
त्यो हो – कोरोनाको दोस्रो लहर । कोरोनाका कारण विश्वका धेरै देशहरुले फेरि लकडाउन गर्न थालेका छन् ।
के नेपालमा पनि लकडाउन हुँदैछ ?
कोरोनाले करिब एक वर्ष नम्ररी थलिएको नेपाल बितेका ४ महिनामा केहि तंग्रिएर पुरानो लयमा फर्कने कोशिसमा छ ।
यतिबेला करिब १७ लाख हाराहारी मानिसले पहिलो चरणको खोप लगाएका छन् । दैनिक सयको हाराहारीमा कोरोना संक्रमित पुष्टि भइरहेका छन् । मृत्युदर घटेको छ तर रोकिएको छैन । चिकित्सकले कोरोनाविरुद्धको खोपले कोरोनाको फैलावटलाई रोक्ने नभई व्यक्तिको शरीरभित्र रोग प्रतिरोधात्मक क्षमता विकास गरेर कोरोनालाई परास्त गर्ने मात्रै भएकोले कोरोना खोपपश्चात् पनि निकै सचेत रहनुपर्ने बताइरहेका छन्। यतिबेला धेरैको चासो र चिन्ता भनेको के फेरिपनि नेपालमा लकडाउन हुँदैछ ? भन्ने हो । यस प्रश्नको जिज्ञासामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले लकडाउन गर्ने मनस्थिती वा योजना नबनाएतापनि आवश्यक पर्दा त्यो नै अन्तिम उपाय भएको आशयसहितको जवाफ दिएको छ ।
अघिल्लो वर्ष यहि समयमा भारतमा देखिएको तीव्र संक्रमणको असर समेतलाई आँकलन गरी नेपाल भारत खुल्ला सीमा नाका बन्द गरिएको थियो । गत वर्ष चैत ११ गतेदेखि नेपालमा देशव्यापी लकडाउन लागू गरिएको थियो। ठ्याक्कै एक वर्षपछि भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि संक्रमणको दर भयावह बन्ने देखिएको छ। अहिले पनि ३० सीमा नाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै २८ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको सहज आवागमनका कारण भारतबाट फेरि कोरोना संक्रमण फैलने जोखिम बढेसँगै कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ ।
भारतीय सीमा नाकामा कडाई
भ्याक्सिनको उपलब्धता र प्रयोगलाई बढाइरहेको भारतमा यतिबेला तीव्र रुपमा कोरोना संक्रमण बढेको छ । यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड १७ लाख ३४ हजार ५८ पुगेको छ । त्यसैगरी १ लाख ६० हजार ४ सय ७७ जनाको मृत्यु भएको छ १ करोड १२ लाख ५ हजार १ सय ६० जना संक्रमणमुक्त भएका छन् ।
कोरोनाको दोस्रो लहर आएसँगै कोरोना संक्रमित तिव्र दरमा बढेका कारण भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा संक्रमणको जोखिम थपिएको कारण नागरिकमा फेरि त्रास थपिएको छ । खुल्ला सीमाका कारण अघिल्लो वर्षजस्तै यसपटक पनि सरकारले भारतबाट नेपाल प्रवेशमा कडाइ गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. कृष्ण पौडेलका अनुसार पहिला उनीहरुको लगत टिपोट गरी हेल्थ डेस्कमा ज्वरो जाँचिनेछ । ज्वरो आएका यात्रुहरुको मलेरियाको आडीटी र सम्भव भएसम्म ‘कोभिड- १९’ को एन्टिजिन टेष्ट गर्ने व्यवस्था मिलाउन भनिएको छ । भारतबाट नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामा चेकजाँच हुनेछ र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए क्वारेन्टाइनमा राखिनेछ। भारतबाट नेपाल आएका र कोरोना संक्रमणको शंका लागेका त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राखिने भएको हो।
कोरोना संक्रमणको दर उच्च रुपमा बढेसँगै भारतबाट विभिन्न नाका भएर नेपाल प्रवेश गर्नेहरुको संख्या बढेको छ । पालिकाहरुमा हट स्पट पहिचान गर्न र समुदायस्तरमा एन्टिजिन परीक्षणसम्बन्धी मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ ।
तत्काल लकडाउन हुँदैन : सीसीएमसी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘कोभिड – १९’ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कोरोना संक्रमण रोकथामका लागि तत्काल लकडाउन गर्ने योजना नभएको तर सचेतता अपनाउन आग्रह गरेको छ । नेपालमा जोखिम न्यूनीकरणका उपाय, स्वास्थ्य मापदण्डको पालना गरिने, तर तत्काल लकडाउन गर्ने योजना नभएको सीसीएमसीको जवाफ छ ।
भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा संक्रमणको जोखिम थपिएको छ । भारतसँग सीमा जोडिएको प्रदेश नम्बर–१ को राजधानी विराटनगरमा भारतबाट आएका चारजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो अवस्थालाई मध्येनजर गर्दै स्वास्थ्य मन्त्रालयले आइतबार सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो ।
भारतबाट आउजाउ गर्ने नागरिकलाई आवश्यक स्वास्थ्य जाँच र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा सीमा नाकाका हेल्थ डेस्कहरुलाई निर्देशन दिएको छ । साथै, मुलुकभरका अस्पतालहरुलाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा राख्ने पनि मन्त्रालयले जनाएको छ ।
युरोपका अधिकांश स्थानमा लकडाउन
कोरोनाको दोस्रो लहर आएको र यो तिव्र दरमा फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले फेरि लकडाउन, प्रतिबन्ध र कर्फ्यू आदेश जारी गरेका छन्। पोल्यान्ड, फ्रान्स र युक्रेनको राजधानी लगायत कतिपय भागमा फेरि प्रतिबन्धहरु लगाइएका छन्। अधिकांश पसलहरु बन्द गरिएका छन् भने मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ। कतिपय स्थानमा राती ७ बजेभन्दा पछि घरबाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको छ ।
टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध
कोरोनाको फैलावट तिव्र रुपमा रहेको भन्दै टोकियो ओलम्पिक आयोजना समितिले विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ। खेललाई सुरक्षित तबरबाट सञ्चालन गर्न भन्दै उसले यस्तो नीति लिएको हो । टोकियो आयोजक समितिका प्रमुख सेको हासिमोतोले भने, “यो अपरिहार्य निर्णय हो।”अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतमा कहाँ–कहाँ लकडाउन ?
कोरोना संक्रमण तिव्र रुपमा देखिएको भारतका विभिन्न शहरमा लकडाउन र रात्रिकालीन कर्फ्यू जारी गरिएको छ। भारतको महाराष्ट्र, पञ्जाब, कर्नाटक, मध्यप्रदेश, राजस्थान राज्यका विभिन्न शहरमा लकडाउन, प्रतिबन्ध, कर्फ्यू, रात्रिकालीन कर्फ्यू, यातायात सेवा बन्द लगायतका घोषणा गरिएका छन्। २२ मार्चकै दिन गत वर्ष भारतभर ‘जनता कर्फ्यू’ गरिएको थियो । संक्रमण बढ्दै जाँदा पछि देशभर लकडाउन समेत लागू गरिएको थियो । संक्रमण घट्दै गएपछि जनजीवन सहज बनाएको भारतमा फेरि संक्रमण बढ्दै जाँदा त्यसको गम्भीर असर खुल्ला सीमा भएको हाम्रो देशमा पर्छ । भारतले कोरोना भाइरस विरुद्धको खोप तयार पारेर सर्वसाधारणलाई लगाइरहेको छ । तर संक्रमण दर घटेको छैन, बरु झनझन् बढिरहेको छ।
जर्मनीमा लकडाउन
जर्मनीले हालको प्रतिबन्ध १८ अप्रिलसम्म थपेको छ । अप्रिलको पहिलो हप्ता राष्ट्रव्यापी पाँच दिनको लकडाउनको तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १ अप्रिल देखि ३ अप्रिल सम्म खाद्यान्न पसलहरू बाहेक सबै पसलहरू बन्द हुनेछन् । धार्मिक सेवाहरू रद्द हुनेछन् र भेलाहरू (अधिकतम दुई वा पाँच व्यक्ति भन्दा बढी) भेला हुन नपाइने भएको छ ।
फ्रान्स पेरिस र अन्य क्षेत्रमा नयाँ लकडाउन
पेरिसमा एक महिना लामो लकडाउन हुँदैछ । लकडाउनमा स्कूलहरु भने खुल्ला हुनेछ । मानिसहरूलाई उनीहरूको घरको १० किलोमिटर भित्र व्यायाम गर्न दिइनेछ तर उनीहरूसँग कारण नभएसम्म देशका अन्य ठाउँहरूमा जान अनुमति दिइनेछैन ।
इटाली ईस्टर मा कुल शटडाउन
इटालीमा पसल, रेस्टुरेन्ट र स्कूलहरू फेरि रोम र मिलानसहित आधा भन्दा बढी सहरहरु बन्द छन्। काम, स्वास्थ्य वा अन्य आवश्यक कारण बाहेक व्यक्तिहरू घरमा बस्नु आवश्यक छ।
ग्रीस संक्रमण : स्तर अनुसार फरक – फरक प्रतिबन्ध
ग्रीसका स्कूलहरू फेरि मार्च १६ देखि दुई हप्ताका लागि बन्द भएका छन्। उच्च संक्रमण दर भएका क्षेत्रहरूमा ‘रेड जोन’हरू आवश्यक पसलहरू बाहेकका सबै पसलहरु बन्द छन् ।
चेक गणराज्यमा कडा लकडाउन
ईयुमा सबैभन्दा कठिन प्रभावित देशहरु मध्ये एक हो । चेक रिपब्लिकमा लकडाउन कडा छ। स साना बच्चाहरु र अपाङ्गता भएका बच्चाहरुका लागि विद्यालय बन्द भएको छ ।
बेल्जियम लकडाउन जारी
बेल्जियमको लकडाउन १ अप्रिल सम्म बढाइएको छ । सबै अनावश्यक यात्राहरु प्रतिबन्धित छ । सार्वजनिक क्षेत्रहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ । स्कूल र पसलहरू खुला छन्, तर व्यक्तिहरू एक्लै शपिंग गर्नुपर्दछ र कुनै पनि पसलमा ३० मिनेट भन्दा धेरै समयसम्म पाउने छैनन् ।
बढ्न थाले संक्रमित
नेपालमा पनि कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेकोमा दुई दिन यता संक्रमितको संख्यामा वृद्धि भइरहेको हो । स्वास्थ्य मन्त्रालयले हिजो मंगलवार दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमणको ग्राफ उकालो लागेको पाइएको हो ।
कोरोना संक्रमणबाट बच्न यी १० मन्त्रलाई आफ्नो जीवनशैली बनाउन चिकित्सकले सुझाएका छन् ।
१. जनस्वास्थ्यका मापदण्ड अपनाउने : महामारीको समयमा सकभर घरमै बस्ने, घरबाट काम गर्ने, घर बाहिर जाँदा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, बाटोमा, चोकमा र कार्यस्थलमा न्यूनतम ६ फीटको व्यक्तिगत दूरी कायम गर्ने, साबुनपानीले हात धोइरहने र ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने, नाकमुख तथा आँखा छुने बानी त्याग्ने, भीडभाडमा नजाने, झ्यालढोका खुला भएको ठाउँमा बस्ने लगायतका सुरक्षित व्यवहारलाई जीवनशैलीको रुपमा अवलम्बन गर्नु जरुरी छ ।
२. तन्दुरुस्त रहने : शारीरिक व्यायाम, पोषिलो खाना, पर्याप्त निद्रा, घामताप्ने बानी, योग, ध्यान तथा तनावलाई व्यवस्थापन गर्ने अन्य कौशलताले हामीलाई तन्दुरुस्त बनाउँछ । रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्दछ । गुर्जो, अश्वगन्धा, अदुवा, बेसार, कागती, मह, मरिच, लसुन, प्याज, दालचिनी, तुलसी, भिटामिन सी, जिंक, भिटामिन डी आदिको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।
३. जोखिमबाट टाढा रहने : अस्पताल, बजारमा हुने भीडभाड, सार्वजनिक यातायात, शपिङ मल, डिपार्टमेन्टल स्टोर, कर तिर्ने ठाउँ, विभिन्न महशुल बुझाउने ठाउँ, बैंक, गल्ली आदि ठाउँमा नजाने । जानुपर्यो भने छोटो समयको लागि सुरक्षा सतर्कता अपनाएर जाने । भरसक अनलाईन सिस्टमबाट यी कामहरु सञ्चालन गर्ने ।
४. स्वास्थ्य अवस्था थाहा पाउने : ब्लडप्रेसर, रगतमा चिनीको मात्रा, युरिक एसिड, कोलेस्टेरोल (लिपिड प्रोफाइल), थाइराइडको अवस्था (टीएफटी), मिर्गाैलाको अवस्था (आरएफटी), कलेजोको अवस्था (एलएफटी), पेटको भिडियो एक्सरे, छातीको एक्स रे, ईसीजी, पिसाबको जाँच, पुरुषले प्रोस्टेट ग्ल्यांड तथा महिलाले पाठेघरको अवस्था, भिटामिन डी, क्याल्सियम, भिटामिन बी १२, हेमोग्लोबिन आदिको अवस्था तथा समस्या देखिएमा अन्य आवश्यक परीक्षण गर्ने । रिपोर्ट अनुसार चिकित्सकको सल्लाहमा समस्याको उपचार गर्ने । महामारीसँग लड्नको लागि स्वास्थ्य अवस्था राम्रो बनाउनु जरुरी हुन्छ ।
५. कुलतको त्याग : रक्सी, चुरोट, सुर्ती, गुट्खा, लागूपदार्थ, इन्टरनेट एडिक्सन आदि भएमा हाम्रो इम्युनिटी पावर कम हुन्छ । शरीरलाई ध्वस्त बनाउने यी अम्मल तत्काल छोड्नु जरुरी छ । खोप लागेपछि वा भाइरस कमजोर भएपछि यो महामारीको अन्त्य हुनेछ । त्यो लक्ष्यमा पुग्ने पुल भनेको धैर्यता, सुरक्षा सतर्कता र स्वस्थ जीवनशैली हो ।
६. विश्वसनिय मिडिया मात्रै र्हेन पढ्ने, प्रयोग गर्ने : मृत्यु भएका, शव गाडेका लगायत कोरोनाबारे सनसनीपूर्ण समाचार हेर्नु हुँदैन । नेपाल सरकार, डब्ल्यूएचओ, सीडीसी, एफडीए, युनिसेफ लगायतका आधिकारिक सूचना तथा स्वास्थ्यकर्मीको सल्लाह मात्र विश्वास गर्ने, प्रतिष्ठित तथा विश्वासिला रेडियो, टेलिभिजन, पत्रिका र १- २ अनलाइन पोर्टल दिनको बढीमा २ पटक मात्र हेर्ने बानीको विकास गर्यौं भने तनाब घट्दछ । भ्रम र हल्लाको पछि लागेर आफूलाई यातना दिने काम गर्नु हुँदैन ।
७.मानसिक स्वास्थ्य बलियो बनाउने : योग तथा ध्यान गर्ने, मोटिभेसनल स्पीच सुन्ने, कमेडी फ्लिम हेर्ने, घर तथा करेसाबारीमा काम गर्ने, पढ्ने, लेख्ने, आर्ट गर्ने, सकारात्मक सोंच भएका साथीसँग फोनमा कुरा गर्ने, कुनै व्यवसायले तनाव दिएको भए त्यो व्यवसाय सल्टाएर अर्को व्यवसाय शुरू गर्ने, आर्थिक जोखिमका काम तथा लगानी नगर्ने, आत्मबल र आत्मविश्वास बढाउने तथा यो समस्या संसारकै समस्या हो भनेर आत्मसात गर्ने एवं हरेक रातपछि सुनौलो बिहानी आउने तथ्य बुझ्नु जरुरी छ ।
८. रिपोर्ट नर्मलमा राख्ने : दीर्घ बिरामीले जोखिमबाट बच्नको लागि नियमित औषधि सेवन गरेर आफ्ना रिपोर्ट नर्मलमा राख्यौं भने अन्य व्यक्तिसरह संक्रमणसँग लड्न सकिन्छ । त्यस्तै ज्येष्ठ नागरिकले आफूलाई युवा ठानेर सक्रिय जीवन बिताएमा रोगसँग जित्ने स्टामिना प्राप्त हुन्छ ।
९. धैर्यता : खोप लागेपछि वा भाइरस कमजोर भएपछि यो महामारीको अन्त्य हुनेछ । त्यो लक्ष्यमा पुग्ने पुल भनेको धैर्यता, सुरक्षा सतर्कता र स्वस्थ जीवनशैली हो । युवा तथा निरोगीले काम गर्ने, जोखिम वर्ग घरमै बस्ने अनि जोखिम वर्गलाई घरभित्र पनि आइसोलेसनको वातावरण प्रबन्ध गर्ने हो भने संक्रमणबाट हुने जोखिमलाई न्यून गर्न सकिन्छ । ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीलाई बचाउनु हामी सबैको पहिलो कर्तव्य हो ।
१०. सजगता अपनाउने : ‘कोभिड – १९’ को कारणभन्दा अन्य रोगले मृत्युको संख्या बढिरहेको छ । तसर्थ आफ्ना बालबालिकालाई खोप लगाउने, पोषणमा ध्यान दिने, मानसिक रुपमा सपोर्ट गर्ने, औषधिसेवीलाई नियमित औषधि उपलब्ध गराउने, गर्भवती तथा सुत्केरीलाई नियमित परीक्षण, पोषण, आराम र सुरक्षाको प्रत्याभूति गर्ने एवं समाजमा सहयोगी तथा सकारात्मक वातावरण निर्माण गर्न हामी सबैको दायित्व हो ।
यो पनि पढ्नुहोस् :
कोरोना भाइरसबाट बच्न भुलेर पनि नगर्नुहोस् यी १० काम !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया