कमला अर्याल /काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंकले क्यूआर कोडमार्फत् हुने कारोबारलाई अभियानका रुपमा अगाडि बढाएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडलाई अभियानका रुपमा अगाडि बढाएका हुन् । गभर्नर अधिकारी कहिले तरकारी बजार त कहिले फलफूल बजार र चिया पसल लगायतमा क्यूआर कोडको उद्घाटन गर्न उत्साहका साथ जाने गरेका छन् । गत वर्ष राष्ट्र बैंकले आरटिजिएस प्रणाली (रियल टाइम ग्रस सेटलमेन्ट) को माध्यमबाट हुने कारोबारलाई यसैगरी,अभियानकै रुपमा अगाडि बढाएको थियो ।
राष्ट्र बैंकले क्यूआर कोडमार्फत हुने कारोबारलाई अभियानका रुपमा अगाडि बढाएपछि सर्वसाधारणको चासो पनि त्यसतर्फ बढेको देखिन्छ । क्यूआर भुक्तानी गर्दा भुक्तानी भएको पैसा स्वदेशमै रहन्छ । अर्थात् विदेशमा जाँदैन । भिषा र मास्टरकार्डको प्रयोग गर्दा निश्चित पैसा विदेश पठाउनु पर्ने हुन्छ । तर क्यूआर कोडको माध्यमबाट कारोबार गर्दा त्यस्तो गर्नु पर्दैन । त्यसै कारण क्यूआर कोडको कार्यान्वयनमा गभर्नर अधिकारी उत्साहित रुपमा लागेका छन् ।
गभर्नर अधिकारीले पहिलो पटक सानिमा बैंकको अगुवाइमा नक्साल तरकारी बजारबाट क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको सुरुवात गरेका थिए । त्यस्तै, प्रभु बैंकले कालिमाटी तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा शुरु गर्यो । त्यस्तै, नबिल बैंकले काठमाडौंको कुलेश्वर फलफूल बजार तथा एनएमबी बैंकले बल्खु तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवाको आरम्भ गरेका थिए । त्यस्तै,माछापुच्छ्रे बैंकले राजधानीको तीनकुने तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गर्यो । यी सबै स्थानमा क्यूआर कोडमार्फत् हुने कारोबारको उद्घाटन गर्न गभर्नर अधिकारी पुगे ।
यसरी बैंकहरुले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका जिल्लाहरुमा पनि क्यूआर कोडबाट भुक्तानी सेवा शुरु गरिसकेका छन् । राष्ट्र बैंकले क्यूआर कोडलाई अभियानको रुपमा अगाडि बढाउँदै गर्दा तरकारी बजार,फलफूल बजार, टेम्पो, मन्दिरको भेटी, यातायात क्षेत्र, चिया पसल , होटल तथा रेष्टुरेन्ट लगायतमा क्यूआर कोड लागू गरिसकेको छ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा पनि गभर्नर अधिकारीले क्यूआर कोड लगायतका विद्युतीय कारोबार प्रवर्द्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गर्ने घोषणा गरेका थिए । त्यस्तै,उनले विद्युतीय कारोबार प्रवर्द्धन गर्न वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न सकिने व्यवस्था समेत गरेका थिए । गभर्नर अधिकारीले जुन रुपमा क्यूआर कोडलाई अगाडि बढाएका छन् । सोही रुपमा सर्वसाधारणको पनि आकर्षण बढेको देखिन्छ। सरकारले नीति तथा कार्यक्रममा पनि आगामी ५ वर्षभित्र डिजिटल नेपालको फ्रेमवर्क सम्पन्न गर्ने र मुलुकलाई प्रविधीमा आधारित भुक्तानीमैत्री बनाउने घोषणा गरेको थियो ।
सरकारको सोही नीति अनुसार राष्ट्र बैंकले क्यूआर कोडमार्फत् हुने भुक्तानीलाई अभियानका रुपमा अगाडि बढाएको हो । पछिल्लो समय क्यूआर कोड मार्फत् हुने कारोबार पनि तिव्र रुपमा बढेको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिना ( माघ ) सम्म २० करोड १६ लाख रुपैयाँ रहेको क्यूआर कोडमार्फत् को कारोबार बढेर १ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
के हो क्यूआर कोड ?
‘क्यूआर कोड’ अर्थात् ‘क्वीक रेस्पोन्स’ । यो प्रणालीबाट कारोबार गर्दा मोबाइलबाट बैंकले उपलब्ध गराएको कोड क्लिक गर्ने बित्तिकै कारोबार हुन्छ । अर्थात् क्यूआर कोडको माध्यमबाट छिटो छरितो तरिकाबाट तत्काल कारोबार गर्न सकिन्छ । मोबाइलको सहाराबाट कुनै पनि कारोबार सजिलैसँग गर्न सकिन्छ । बैंकले उपलब्ध गराउने कोडको प्रयोग गरेर सजिलैसँग भुक्तानी गर्न सकिन्छ ।
यसरी गर्न सकिन्छ क्यूआर कोडबाट भुक्तानी
यस प्रकारको भुक्तानी विशेष गरी मोबाइलबाट हुने भएकाले कुनै पनि व्यक्तिको बैंक खातासँगै मोबाइलमा बैंकिङ एप हुनुपर्छ । अथवा आइएमई पे, प्रभु पे इसेवा तथा खल्ती, लगायतका वालेटबाट क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ । मोबाइल बैंकिङ एप भित्रै कुनै पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरुको फिचर लिंक रहेको हुन्छ । त्यसपछि क्यूआर कोर्ड स्क्यान गरेर बैंकिङ एपमार्फत् रकम भुक्तानी गर्न सकिन्छ । त्यसका लागि इन्टरनेट अनिवार्य रुपमा आवश्यक पर्छ । भुक्तानी गर्दा क्यूआर कोडमा व्यक्ति वा संस्थाको नाम, खाता भएको बैंकको नाम तथा खाता नम्बर भएको हुनुपर्नेछ ।
सबै भुक्तानी सेवा प्रदायक कम्पनीको क्यूआर कोड एउटै सञ्जालमा
राष्ट्र बैंकले सबै भुक्तानी सेवा प्रदायक कम्पनीको क्यूआर कोड एउटै सञ्जालमा ल्याउने तयारी गरिरहेको छ । जसका लागि राष्ट्र बैंकले ‘क्विक रेस्पोन्स क्यूआर कोड’ मस्यौदा समेत तयार पारेको छ । पछिल्लो समय क्युआर कोडमार्फत हुने कारोबार तिब्र रुपमा अगाडि बढेपछि क्यूआर कोडमार्फत हुने भुक्तानी सेवालाई नियमन तथा सुदृढीकराण गर्न क्यूआर कोड स्ट्याण्डराइजेसन फ्रेमवर्कको मस्यौदा पनि तयार भइसकेको छ । यस विषयमा सुझाव संकलनको काम भइरहेको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले बताए ।
यस्ता छन् क्यूआर कोडका फाइदाहरु :
क्यूआर कोडको माध्यमबाट कारोबार गर्दा छोटो समयमा तत्कालै गर्न सकिन्छ । त्यसैले सबैभन्दा ठूलो फाइदा त समयको बचत हुन्छ । स्मार्टफोन तथा इन्टरनेट भएमा खल्तीमा पैसा बोकेर हिँड्नु पर्ने झण्झट हटाउँछ । काम प¥यो भने पैसा झिक्न एटीएम बुथ धाउनुपर्ने अवस्था पनि हुँदैन । त्यसैले पनि यो भुक्तानी सेवा लोकप्रिय हुँदै गएको छ । त्यस्तै, क्यूआर कोडमार्फत् भुक्तानी गर्दा खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने र ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा सुरक्षित समेत हुने राष्ट्र बैंकको भनाइ छ । त्यस्तै, बैंकमा आवतजावत गर्न समय पनि नलाग्ने, क्यूआर कोडको प्रयोग गरेर सामान खरिद गर्दा कागजी नोटबाट कारोबार गर्दा हुने सम्भावित खतराबाट पनि जोगिन सकिन्छ । जस्तो रोगका किटाणुहरु कागजी नोटमा लामो समयसम्म रहन सक्छन् ।
पछिल्लो समय आएको कोरोना भाइरस ‘कोभिड १९’ पनि कागजी नोटबाट सर्ने चिकित्सकहरुले बताएका छन् । त्यसका साथै क्यूआर कोडका माध्यमबाट कारोबार गर्दा नोटको जतन समेत हुन्छ । नोट छपाईमा सरकाले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले सो खर्च बचाउन पनि क्यूआर कोडको माध्यमबाट हुने कारोबारले ठूलो सहयोग गर्छ ।
राष्ट्र बैंकमा खोई क्युआर कोड ?
मुलुकलाई क्यूआर कोडमय बनाउने अभियान नै चलाएको राष्ट्र बैंकले आँफै क्युआर कोड लागु गर्न सकेको छैन । राष्ट्र बैंकका कर्मचारी,तिनका खाजा खाने भान्छा९राष्ट्र बैंकको किचन० राष्ट्र बैंकको वोर्ड बैंक,जसबापतको भत्ता लिँदा क्युआर कोड मार्फत हुने गरेको छैन ।
खाजा खाने सामान किन्दा क्यूआर कोडमार्फत् भुक्तानी हुन सकेको छैन । अन्य स्थानमा क्युआर कोर्ड लागु गरिरहेको राष्ट्र बैंकले आँफै लागू गर्न नसकेको विषयमा प्रश्न उठ्न थालेका छन् । उच्च शिक्षा हासिल गरेका,इन्टरनेटको सुविधा भएका र भरपुर मात्रामा प्रविधिको ज्ञान भएका राष्ट्र बैंककै कर्मचारी क्यूआर कोड लागु गर्न सकेका छैनन् भने न्युन आय भएका,अशिक्षित सर्वसाधारणले प्रयोग गर्ने गरेको क्युआर कोडले अभियान सफल होला त ? गभर्नर अधिकारीले क्यासलेस गन्तब्यमा पुर्याउन खोजेको यो अभियान साँच्चै नै गन्तव्यमा पुग्ला त भन्ने सवालहरु खडा हुन थालेका छन् ।
छैन स्पष्ट नीति
तीव्र रुपमा विस्तार भइरहेको क्यूआर कोड कार्यान्वयनका लागि स्पष्ट नीति बनिसकेको छैन । कोरोना भाइरस‘कोभिड १९’को संक्रमणले जन्माएको क्यूआर कोडमा आधारित यो कारोबारको स्ट्यान्डराइजेशन फेमवर्कको मस्यौदा बनिसकेको भए पनि संचानका लागि मापदण्ड तथा कार्यविधी भने बनेको छैन । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा क्यूआर कोडको मापदण्ड तोक्ने जनाएको थियो । त्यसका लागि आवश्यक पूर्वाधार र कानूनी व्यवस्थाको तर्जुमा गर्नुपर्ने भनिएको छ ।
राष्ट्र बैंकले त्यसैका आधारमा मापदण्ड तथा कार्यविधी बनाउने तयारी भइरहेको सहायक प्रवक्ता पोखरेलले बताए । विभिन्न क्षेत्रबाट संकलन गरिएका सुझावका आधारमा राष्ट्र बैंकले क्यूआर कोडको मापदण्ड र कार्यविधि तयार गरिने उनको भनाई छ । अहिले राष्ट्र बैंकले विभिन्न सर्कुलर तथा एकिकृत निर्देशिकाको आधारमा क्यूआर कोड कार्यान्वयन गर्दै आएको छ ।
यस्ता छन् बाधक पक्ष
जतिसुकै डिजिटलाइजेशनको कुरा गरेपनि आम नागरिक अझै प्रविधीमैत्री भइसकेका छैनन् । नेपालमा इन्टरनेट सेवा महँगो छ ।
त्यस्तै,मोबाइल डाटा पनि उस्तै महँगो छ । जसका कारण सर्वसाधारणले इन्टरनेट नभएका स्थानबाट क्युआर कोडबाट भुक्तानी गर्नु प¥यो भने महँगोमा डाटा किनेर भुक्तानी गर्ने संभावना निकै कम देखिन्छ । राष्ट्र बैंकले तरकारी बजार,फलफुल बजार,चिया पसल,सफा टेम्पो,यातायात,होटल तथा रेस्टुरेन्ट,मन्दिरको भेटी लगायतका क्षेत्रमा क्युआर कोडको सुरुवात गरेको छ । यस्ता स्थानमा सरकारले निःशुल्क इन्टरनेटके व्यवस्था गरिदिने हो भने मात्रै क्युआर कोर्डको कार्यान्वयन प्रभावकारी रुपमा अगाडि बढ्ने व्यवसायी गुणनिधी तिवारी बताउँछन् । व्यवसायिक क्षेत्रमा पनि सबै स्थानमा क्युआर कोडबाट भुक्तानी गर्न समस्या हुने उनको तर्क थियो । राष्ट्र बैंकले क्युआर कोडको सहज प्रक्रिया र जनचेतना विस्तार गर्न आवश्यक छ ।
विशेष: गरी क्यूआर कोडको प्राविधिक पूर्वाधार तथा सेवा शुरु गर्न मर्चेन्टलाई असहज प्रक्रिया तथा प्रावधान पनि यस्तो कारोबारको बाधकका रुपमा देखिन्छन् । सर्वसाधारणलाई व्यापारीहरुले क्यूआर कोडबाट भुक्तानी गर्न यस्तो सेवा लिएको हुनुपर्छ । जुन प्रक्रिया असहज र झन्झटिलो छ । त्यसैले राष्ट्र बैंकले यस्तो प्रक्रिया सहज र सरलीकरण गर्नु आश्यक छ । तर पोखरेल भने प्रक्रिया झन्झटिलो नभएको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया