सर्वसाधारणलाई हतियार राख्न नदिने बाइडेनको तयारी

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकामा पछिल्लो एक हप्तामा दुईवटा बन्दुक आक्रमण भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गोली नियन्त्रणसम्बन्धी कानुन यथाशीघ्र पास गराउन सांसदहरुलाई आग्रह गरेका छन् ।

गोली आक्रमण बढेसँगै बाइडेनले सांसदहरुलाई यस्तो आग्रह गरेका सञ्चार माध्यमले जनाएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभबाट गएको मार्च ११ मा पारित भएका दुईवटा विधेयक पारित गर्न उनले सिनेटसमक्ष आग्रह गरेका हुन् । उक्त विधेयक पास भएमा हतियार बिक्रेताको पृष्ठभूमि जाँच्ने अधिकारको दायरालाई थप बढाउने जनाइएको छ ।

“भविष्यमा थुप्रै जीवनको रक्षा गर्ने सामान्य ज्ञानको यस विषयमा कदम चाल्न मलाई एक मिनेट पनि प्रतीक्षा गर्न जरुरी छैन,” बाइडेनले भने, “यस विषयमा गम्भीर कदम चाल्न म सिनेट र हाउसका मेरा सहकर्मीहरुसँग आग्रह गर्दछु ।” आफ्नो चुनावी अभियानमा समेत बाइडेनले बन्दुकसम्बन्धी अपराध नियन्त्रण गर्ने विषयलाई पटक–पटक दोहोर्‍याएका थिए ।

गएको सोमवार कोलोराडोस्थित सुपरमार्केटमा एक बन्दुकधारीले १० जनाको ज्यान लिने गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसको ६ दिनअघि एटलान्टामा पनि अर्का एक व्यक्तिले त्यसैगरी आठजनाको ज्यान लिएका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?