काठमाडौं – नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर डा. चिरन्जीवी नेपाललले सुरुवात गरेको बिग मर्जरले निरन्तरता पाउन थालेको छ। डा. नेपालले गत वर्ष ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर गरेर बिग मर्जरको शुरुवात गरेका थिए ।
यी दुई बैंकको मर्ज भइसकेपछि अन्य बैंकहरुलाई पनि दबाव सिर्जना भएको छ । गत वर्ष देखि नै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकबीच मर्जरका लागि विभिन्न चरणमा छलफल समेत गरे । अन्ततः नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंक मर्जरको अन्तिम मोडमा पुगेका छन् । निजी क्षेत्रका यी दुई ठूला तथा पुराना बैंकको मर्जरले बिग मर्जरमा अर्को एउटा ईँटा थप्ने भएको छ । यी दुई बैंकका संचालकहरु आपसमा नातेदार पनि पर्ने भएकाले मर्जरमा जान सजिलो भएको स्रोतको भनाई छ । यी दुई बैंक मर्जर भएपछि सबैभन्दा ठूलो बैंकको रुपमा कारोबार गर्नेछ । राष्ट्र बैंकका निर्वमान गभर्नर डा. नेपालको कार्यकालदेखि सुरु भएको बिग मर्जर प्रक्रियामा राष्ट्र बैंक तिव्र रुपमा अगाडि बढेपछि बैंकहरुलाई बिग मर्जरमा जान दबाब परेको हो ।
राष्ट्र बैंकको दबाबसँगै यी दुई बैंक मर्जरको अन्तिम तयारीमा पुगेका हुन् । यसअघि धेरै पटक गरिएका वार्ता तथा छलफल सफल नभए पनि यसपाली भने मर्जरमै जाने गरी तयारी भएको हो । बैंक मर्जरका लागि लिखित प्रतिवद्धता समेत भइसकेको छ । यी दुई बैंक मर्जरमा शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ हुने बताइएको छ ।‘ हामीले गत वर्ष नै यी बैंकलाई मर्जरमा जाउ भनेकै हो ।’ स्रोतले भन्यो ।
गत सोमवार मर्जरकै लागि हिमालयन बैंकको सञ्चालक समितिको बैठक बस्ने निर्णय भएको थियो । सो बैठकले बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) रिपोर्ट अनुमोदन गर्ने योजना थियो । गत मंगलवार हिमालयन बैंकको सञ्चालक समितिले डीडीए अनुमोदन गरेर बिहीबार वा शुक्रबार मर्जरका लागि सैद्दान्तिक समझदारी (एमओयू) गर्ने तयारी भएपनि हिमालय बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम बिरामी परेका कारण रोकिएको छ ।
यी दुई बैंक मर्जरपछि संचालक समितिको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत सीईओ हिमालयन बैंकका अशोक राणा तथा डेपुटी सीईओ ज्योतिप्रकाश पाण्डे हुने सहमती भइसकेको छ । दुई बैंक मर्ज हुँदा मुलुककै ठूलो बैंक बन्नेछ । मर्जरपश्चात् बैंकको चुक्ता पूँजी करिब २७ अर्ब रुपैयाँ तथा अधिकृत पूँजी करीब ४७ अर्ब रुपैयाँ पुग्नेछ । निक्षेप ३ खर्ब तथा कर्जा २ खर्ब ६८ अर्ब रुपैयाँ हुने भएको छ।
आउला त ‘सिनर्जी इफेक्ट?’
बैंकिङ प्रणालीमा सिनर्जी इफेक्ट आउन बैंक तथा वित्तीय संस्थाहरुको मर्जर नितान्त आवश्यक छ । बैंक मर्जर भएपछि पूँजीगत रुपमा बलिया हुनुका साथै प्राविधीक रुपमा पनि सुरक्षित हुन सहयोग पुग्छ । त्यसैले बैंकको मर्जर आश्यक भएको निर्वमान गभर्नर डा. नेपाल बताउँछन् । बैंक मर्जर भएपछि यस क्षेत्रमा सिनर्जी इफेक्ट आउने दाबी डा .नेपालको छ । अहिले विश्वमा प्रविधीको चर्को प्रतिस्पर्धा भएकाले नयाँ नयाँ प्रविधीको विकास भइरहेको छ । त्यसका साथै त्यसका कमजोर पक्ष समातेर प्रशस्त अपराध पनि हुने गरेका छन् । त्यस अपराधबाट बच्न पनि बैंकिङ क्षेत्रले प्रविधीमा ठूलो लगानी गर्नुपर्ने देखिन्छ ।
जसले गर्दा बैंकको खर्च बढ्नुका साथै नाफामा समेत गिरावट आएको छ । मर्जरमा जाँदा बैंक पूँजीगत रुपमा बलिया मात्रै होइनन्, तिनले गर्ने व्यापार व्यवसाय, कर्मचारी व्यवस्थापन, शाखाहरुको विस्तार, वित्तीय पहुँचको विस्तार तिव्र रुपमा हुन्छ। साथै बैंकको खर्च घट्नुका साथै सेवा विस्तार तिव्र रुपमा हुन्छ । जसले सिनर्जी इफेक्ट ल्याउँछ भन्छन्,डा।नेपाल । सिनर्जी इफेक्ट आउन मर्जरका क्रममा बैंकका सञ्चालकबीच हुने समझदारी नै सबै भन्दा महत्वपूर्ण कुरा भएको नेपालको भनाई छ ।
सिनर्जी इफेक्ट मर्ज भइसकेपछि देखिने भएकाले मर्ज अगाडि नै त्यसका लागि पूर्ण तयारी गर्नुपर्नेमा उनको जोड छ । बैंक मर्जर भएपछि क्यापिटल कस्ट कम हुनु , प्रविधीमा लगानी गर्ने क्षमता बढ्नु, ठूला योजना तथा परियोजनाहरुमा लगानी गर्ने क्षमता हुनु, ऋण विस्तार सहज हुन्नुका साथै ठूलो बैंकको रुपमा अन्तर्राष्ट्रिय स्तरमा बैंकको पहिचान बनाउन सकिन्छ, त्यहि नै सिनर्जी इफेक्ट हो।
के हो ‘सिनर्जी इफेक्ट ? ‘
साना तथा कमजोर वित्तीय संस्थाहरुले अगल अलग स्थानमा बसेर काम गर्न सक्दैनन्, प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसैले त्यस्ता साना र कमजोर वित्तीय संस्थाहरुलाई मर्ज गरेपछि बलिया बन्छन् । जसले गर्दा प्रतिस्पर्धा खरो रुपमा उत्रिन सक्छन् । यसैलाई सिनर्जी इफेक्ट भनिन्छ ।
सिनर्जी इफेक्ट भएको सबैभन्दा पहिले बैंकको पूँजीमा देखिन्छ । त्यस्तै,वित्तीय अवस्था,जनशक्ति लगायतमा देख्न सकिन्छ । त्यस्तै,बैंकको बजार, व्यवसाय, प्रतिस्पर्धा, सञ्जाल लगायतमा इफेक्ट आएको देख्न सकिन्छ । यी क्षेत्रमा तिव्र रुपमा प्रगति भएको हुन्छ ।
कुनै वित्तीय संस्थाको एक खालको कमजोरी हुन्छ भने कुनै वित्तीय संस्थाको अर्को खालको कमजोरी हुन्छ । ती कमजोरी भएको काम दुई संस्थाको बल एकै ठाउँमा भएर गर्दा त्यो काम उत्पादनशील हुन्छ । त्यसैलाई सिनर्जी इफेक्ट भनिन्छ ।
साना र कमजोर वित्ती संस्थाले अलग अलग रुपमा गर्ने कमजोर काम भन्दा दुई संस्था मर्जर भएर गर्ने काम बलियो र उत्पादनशील हुन्छ । त्यसले बैंकको पर्फमेन्स बढ्छ । समग्रमा यसैलाई सिनर्जी इफेक्ट भएको मान्न सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया