तरकारीमा उच्च विषादी : जानकार छैनन् उपभोक्ता

काठमाडौं । उपभोक्ताले दैनिक रुपमा प्रयोग गर्दै आएका हरिया तरकारीमा अत्याधिक रुपमा विषादी पाइएको छ ।

उपत्यका भित्रिने हरिया तरकारीमा उच्च मात्रामा विषादीको प्रयोग पाइएको कालीमाटी विषादी परीक्षण एकाइले जनाएको छ । इकाइका अनुसार विभिन्न आठ थरिका तरकारीमा खानै नहुने विषादीको प्रयोग पाइएको हो । इकाइको प्रमुख प्रकाश घिमिरेले दैनिक उपभोग हुने काउली, गोलभेडा र फर्सी लगायका विभिन्न आठ थरीका तरकारीमा विषादीको मात्रा अधिक पाइएको लोकपथलाई बताए । इकाइले दुई प्रकारका विषादी कार्बाेनेट र अर्गानिक फोस्फेडको मात्रै परिक्षण गर्ने गर्छ । ‘परिक्षणको क्रममा यी दुई विषादी अत्याधिक पाइएको छ ।’ प्रमुख घिमिरे लोकपथसँग भने ।

इकाइले हरेक दिन विषादी परिक्षण गर्नुका साथै विषादी परिक्षण संबन्धी मासिक विवरण समेत निष्काशन गर्ने गरेको छ । चालु आर्थिक वर्षको आठ महनिा(फागुन) सम्मको इकाइले गरेको १ हजार ६ सय ५१ वटा नमुना परिक्षणमा आठ प्रकारका तरकारीहरुमा अत्याधिक मात्रामा विषादी पाइएको हो ।

गत मंसिरदेखि नै उपत्यका ल्याइने तरकारीमा विषादी देखिन थालेको इकाइले जनाएको छ ।

गत फागुनमा पनि ५ वटा तरकारीमा खानै नमिल्ने गरी विषादी फेला परेको थियो । कालिमाटी तरकारी बजारमा दैनिक ६ सय टन भन्दा बढी हरिया तरकारी तथा सागपात आयात हुँदै आएका छन् । इकाइका अनुसार आलु, प्याज र लसुन बाहेक सबैजसो तरकारीमा विषादीको मात्रा परीक्षण हुने गरेको छ ।

वेखबर छन् उपभोक्ता

दैनिक रुपमा प्रयोगमा आउने हरिया तरकारीहरुमा अत्याधिक रुपमा विषादीको प्रयोग भएपनि उपभोक्ता भने बेखबर छन् । तरकारीमा जतिसुकै मात्रामा विषादीको प्रयोग हुने गरेपनि उपभोक्ताले भने निरन्तर रुपमा प्रयोग गरिरहेका छन् । तरकारीमा प्रयोग गरिएको विषादीका बारेमा उपभोक्ता जानकार नहुँदा स्वास्थमा गम्भीर समस्या आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?