बीमा अभिकर्तालाई दिइने कर्जाको सीमा घटाउँदै समिति, कर्जाको फाइल सिलवालको हातमा

लोकपथ
0
Shares

कमला अर्याल /काठमाडौं – बीमा समितिले अभिकर्ताहरुलाई बीमक बीमा कम्पनीहरु ले प्रवाह गर्ने कर्जाको सीमा घटाउने तयारी गरेको छ।

बीमा कम्पनीहरुले अभिकर्तालाई जथाभावी कर्जा दिने गरेको पाइएपछि समितिले उनीहरुलाई प्रवाह गर्ने कर्जाको सीमा तोक्ने तयारी गरेको हो । बीमा कम्पनीहरुले एउटै अभिकर्तालाई विना धितो नै करोडौँको कर्जा दिने गरेको देखिएपछि समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अभिकर्ताको कर्जाको फाइल नै मगाएर अध्ययन गर्ने भएका छन् । ‘अधिकर्तालाई के आधारमा कति कर्जा प्रवाह हुने गरेको छ भनेर हामीले अध्यन गर्न लागेका छौँ ।’ अध्यक्ष सिलवालले लोकपथसँग भने ।

अभिकर्तालाई करोडौँ कर्जा केका आधारमा प्रवाह गरिएको हो भन्ने विषयमा समितिले विशेष चासो राखेर अध्ययन गर्ने अध्यक्ष सिलवालले बताए ।

त्यसका लागि सबै बीमा कम्पनीहरुबाट अभिकर्ताले लिएको कर्जाको फाइल संकलन गर्न समितिले निर्देशन दिएको छ । २/४ दिनमा कर्जाका सबै फाइल आइपुग्ने र ती फाइलमाथि अध्ययन गरेर अभिकर्ताले पाउने कर्जामा सीमा तोक्ने वा अन्य के विकल्प खोज्ने भन्ने विषयमा टुंगो लगाउने समितिले जनाएको छ ।

पछिल्लो समय बीमा कम्पनीका शाखा प्रमुख तथा अभिकर्ता स्वयंले कर्जा प्रवाहको लक्ष्य पूरा गर्न अभिकर्तालाई नै कर्जा प्रवाह गर्ने तथा धेरै पोलिसी बिक्री गरेको हिसाब देखाउने गरेको गलत अभ्यासको सुईँको पाएका अध्यक्ष सिलवालले त्यस्तो विकृति न्यूनिकरण गर्न अधिकर्ताको कर्जा सम्बन्धी फाइल नै मगाएर अध्ययन गर्न लागेका हुन् । बीमा कम्पनीहरुले यस्तो गलत अभ्यास गरेर आफ्नो व्यपार व्यवसाय बढाइरहेकाले समितिले कडाई गर्न लागेको हो ।

अभिकर्ताले कम्पनीको व्यवसाय पनि राम्रो देखिने र आफूलाई पनि राम्रो कमिसन आउने भएपछि यस्ता काममा लागेको देखिन्छ । त्यसका साथै अभिकर्ताले आफ्ना नजिकका आफन्तलाई समेत बीमा पोलिसी बेच्ने र उनीहरुलाई पनि करोडौँको कर्जा दिलाइदिने गरेका छन्। यस्तो बिकृति रोक्न समिति कडा रुपमा उत्रिने अध्यक्ष सिलवालले बताए ।

यस विषयमा गत बुधबार समितिले बीमा कम्पनीहरुसँग छलफल पनि गरेको थियो। सो छलफलमा अध्यक्ष सिलवालले एउटै अभिकर्तालाई ५/१० करोड सम्मको ठूलो प्रकृतिको कर्जा के का आधारमा दिएको भन्ने प्रश्न समेत गरेका थिए ।

साथै उनले ऐन नियमभन्दा बाहिर गएर कर्जा प्रवाह नगर्न तथा ऐनमा तोकिएको १८ प्रतिशत भित्रै रहेर काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?