काठमाडौं । संसदीय समितिले निर्माणाधिन नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समय भित्र सम्पन्न हुनेगरी काम अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रवार बसेको बैठकले नारायणगढ–बुटवल सडक खण्ड आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न हुने गरी शुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
पूर्वतयारी बिना काम अगाडी बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पुरा गरी तोकिएकै समयभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम शुरु गर्न निर्देशन दिएको हो ।
समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको होडिङ बोर्ड लगायतका डकुमेन्टहरु अंग्रजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
बैठकका निर्णयहरु सुनाउँदै समिति सभापति कल्याणी कुमारी खड्काले भनिन् ‘पूर्वपश्चिम राजमार्ग नेपालको लाइफलाइन भएको र यस राजमार्गबाट ठूलो मात्रामा यात्रुहरु आवत् जावत् गर्ने भएको हुँदा यस खण्ड अन्र्तगत पर्ने निर्माणाधिन नारायणगढ–बुटवल सडक खण्ड आयोजनाको काम पूर्वतयारी बिना अगाडी बढाइएको तथा न्युन क्षमताका निर्माण व्यवसायीबाट काम भइरहेकोले आयोजना समयमा सम्पन्न हुन नसक्दा यात्रुहरुले अनावश्यक रुपमा सास्ती बेहोर्नु परिरहेकाले गुणस्तरीय रुपमा तोकिएको समयमा आयोजना सम्पन्न हुनेगरी कार्य अगाडी बढाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । नेपालमा सञ्चालन हुने गरेका कतिपय सडक आयोजना तथा अन्य भौतिक पूर्वाधारका आयोजनाहरुको होर्डिङ बोर्ड तथा त्यस्ता आयोजनाहरुको बारेमा लेखिएका डकुमेन्टहरुमा अंग्रेजी भाषा परेको पाइएको हुँदा आयोजनाका बारेमा लेखिएका डकुमेन्टहरु आम नागरिकले स्पष्ट बुझ्ने गरी नेपाली भाषामा पनि लेख्ने व्यवस्था गर्नु, गराउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’
समितिले समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी पूर्वाधार विकास आयोजनाका सम्बन्धमा समितिमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेका कारण विकासका उपयुक्त मोडेलका बारेमा पूर्वाधार विज्ञहरुसँग समितिले कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि सभापति खड्काले बताइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया