काठमाडौं । काठमाडौं उपत्यकासहित धेरै भेगमा वायुको गुणस्तर खस्किँदै गएको छ । वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) हरेक दिन बढिरहेको छ।
शुक्रवार ४ सय ७० र शनिवारर साँझसम्म २ सय ९ स्थानमा डढेलो लागेपछि त्यसको असरले वायु गुणस्तर मानव स्वास्थ्यका दृष्टिले हानिकारक तहमा पुगेको छ। सबैभन्दा बढी प्रदूषणको मात्रा बाराको सिमरा र ललितपुरको भैंसेपाटीमा देखिएको छ।
शनिवार विहान ती स्थानको एक्यूआई क्रमशः ३८६.०३ र ३५५.८९ देखिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ।
शुक्रवारको तुलनामा शनिवार धेरै ठाउँमा डढेलो घटेको विवरण प्राप्त भएको छ। डढेलो घटे पनि प्रदूषणको मात्रा भने घटेको देखिँदैन ।
प्रदूषणले घातक असर बिहीवार सिमराको २४ घण्टाको एक्यूआई ३४८, भैंसेपाटीमा २३६, भक्तपुरमा २०७, कीर्तिपुरमा १९९ र रत्नपार्कमा १८३ थियो।
बिहीवारको तुलनामा शुक्रवार सिमरासहित अधिकांश भेगमा एक्यूआई बढेको छ। सिमरामा ३६३, भैंसेपाटीमा ३१४, भक्तपुरमा ३११, कीतिपुरमा २९०, रत्नपार्कमा २०० र पोखरामा २०० मापन भएको वातावरण विभागको तथ्यांक छ।
जमिन र वायुमण्डलबीचको वायुलाई छेक्ने तह (इन्भर्जन लेयर)ले अधिकांश भेगमा तुवाँलो बढेपछि मध्य हिउँदझैं ‘भिजिबिलिटी’ कमजोर भएको छ।
जमिनको सतहबाट ३–४ सय मिटरमाथि विकसित हुने ‘इन्भर्जन लेयर’ले जमिन र वायुमण्डलको वायु स्थिर रहने विज्ञ बताउँछन्। धुलो, धुवाँ र प्रदूषणले ढाकिएको वायु धकेल्ने पश्चिमी मौसमी प्रणाली विकास नहुँदा तुँवालो बढेको विज्ञहरूको ठहर छ।
वायुमण्डलमा धुलो, धुवाँ र बालुवा मिश्रित ‘हेज’को मात्रा धेरै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया