काठमाडौं । म्यानमार सेनाले आफ्नो वार्षिक सशस्त्र दिवस नागरिकमाथि बर्बर गोली चलाएर मनाएको छ । दुई महिनाअघि भएको सैनिक ‘कू’ पछिको सबैभन्दा भयानक दिन शनिवार ८९ नागरिक मारिएका छन् ।
खासमा सैनिक र प्रहरीले अन्धाधुन्ध गोली चलाएका छन् । त्यो पनि एक होइन, दर्जनौँ सहरमा । कतिको ज्यान गयो ? स्वतन्त्र पुष्टि हुन सकेको छैन । राजनीतिक बन्दीहरूको संगठनले शनिवारको प्रदर्शनमा ८९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।
राजधानी यांगुनमा सक्रिय स्वतन्त्र अनुसन्धानकर्ताहरू भन्छन्– टोल–टोलमा गोली चलेको छ, घाइतेलाई प्रदर्शनकारीले अस्पतालतर्फ लगेका छन्, राज्यले एकमुष्ठ विवरण सार्वजनिक गरेको छैन । त्यसैले मृतकको संख्या अहिले यकिनसाथ भन्न सकिन्न ।
अनलाइन समाचार साइट म्यानमार नाउले मृतकको संख्या एक सय १४ पुगेको बताएको छ । शान्तिपूर्ण प्रदर्शनमा एकै दिन यति धेरै जनताको हत्या आधुनिक इतिहासमा असाधारण घटना हो । दुई महिनाअघि कु भएयता भएका प्रदर्शनमा म्यानमारमा चार सय नागरिक मारिएका छन् ।
संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्च आयुक्तको कार्यालयले भनेको छ, ‘४० भन्दा बढी सहरमा गोली चलेको छ, सयौँ घाइते भएका छन् । थुप्रै मारिएका छन् ।
हामी सम्पूर्ण रिपोर्ट संकलन गरिरहेका छौँ । बालबालिकालाई पनि गोली हानिएको छ, उनीहरूको हत्या भएको छ । खासमा प्रजातन्त्र मास्न र सैनिक शासन बलियो बनाउन यो सब दमन भइरहेको छ ।
घरबाट गिरफ्तार गरिएकाहरूलाई हिरासतमै मार्ने गरिएको छ । त्यसरी गिरफ्तार गरिएका कतिपय नागरिक बेपत्ता छन् । कतिको बीभत्स लास आफन्तलाई फिर्ता गर्ने गरिएको छ । कुटपिट गरेर, गोली हानेर क्षतविक्षत बनाइएका लास आफन्तलाई हस्तान्तरण गर्ने गरिएको छ ।
आफ्नै जनतामाथि म्यानमार शासनको यो बर्बरता देखेर विश्व आक्रोशित छ । म्यानमारको युरोपियन युनियन प्रतिनिधिमण्डलले भनेको छ, ‘म्यानमारको ७६औँ सशस्त्र बल दिवस आतंक र अपमानको दिनका रूपमा चिनिनेछ ।
सेना प्रमुख मिन आङले प्रदर्शनकारीलाई चेतावनी दिएका छन् । पछिल्ला दिनमा सैनिक कारवाहीमा निधन हुनेको संख्या हेरेर प्रदर्शनकारीले केही सिक्नुपर्ने उनको भनाइ छ ।
सेनाको गतिविधिपछि अहिलेसम्म प्रदर्शनकारीले केही सिक्नुपर्ने थियो, गोली तपाईंको टाउको वा पछाडि ढाडमा पनि लाग्न सक्छ,’ उनले धम्कीपूर्ण भाषामा भने । सेनालाई गोली चलाउन आदेश नदिएको उनको दाबी छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया