काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा आज पुनः पेशीमा चढेको छ ।
अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाइ यसअघि पेशीमा चढेर स्थगित हुँदै आएको थियो । न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासमा सो मुद्दाको पेशी एक नम्वरमा परेको छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरुसहितलाई मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।
२०७६ माघ २८ गतेअख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व पनि मुद्दा चलाउन माग गर्दै उनले दायर गरेको रिटमाथिको सुनुवाई भने विभिन्न कारणले स्थगित हुँदै आएको थियो ।
नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए । सोही बेला जग्गा व्यक्तिको नाममा लगिएको थियो । अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया