म्यानमार कू : सेनाविरोधी प्रदर्शनमा हालसम्म ४ सय जना मारिए

लोकपथ
0
Shares

एजेन्सी । म्यानमारमा सेनाले सत्ता लिएयता भएको सेनाविरोधी प्रदर्शनमा हालसम्म ४ सय भन्दा धेरै नागरिकले ज्यान गुमाएका छन् ।

आइतवार मात्र सेनाले शोक सभामा हस्तक्षेप गर्ने क्रममा गोली चलाउँदा १०० भन्दा धेरै मानिसले ज्यान गुमाएका हुन् । प्रदर्शनमा मारिएकाहरुको सामूहिक अन्तिम सँस्कार भइरेको बेला सेनाले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सूकी, राष्ट्रपति विन मिन्टसहित नेशनल लिग फर डेमोक्रयासी (एनएलडी) का अन्य वरिष्ठ नेतालाई हिरासतमा लिई एक वर्षका लागि आपतकाल घोषणा गरेको छ ।

गत वर्ष नोभेम्बर ८ मा भएको निर्वाचनमा नेतृ सूकीको पार्टीले ८३ प्रतिशत मत हासिल गरेको थियो । जबकी ४ सय ७६ सिटका लागि भएको निर्वाचनमा सेना समर्थित युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) ले ३३ सिट मात्र जितेको थियो ।

मत परिणामप्रति असन्तुष्ट सेनाले निर्वाचनमा एनएलडीले धाँधली गरेको आरोप लगाउँदै आएको थियो । मतदाता नामावलीमा व्यापक अनियमितता भएको उनीहरुले बताएका थिए । तर यहाँको निर्वाचन आयोगले भने उक्त आरोप पुष्टि गर्ने कुनै आधार नभेटिएको भन्दै एनएलडीलाई विजयी घोषित गरिदियो । यसै विषयलाई आधार बनाएर सेनाले सत्ता हातमा लिएको हो ।

नयाँ निर्वाचित संसदको पहिलो बैठक बस्ने केही घण्टाअघि मात्र सेनाले निर्वाचित नेताहरुलाई हिरासतमा राखी सत्ता सञ्चालनको जिम्मेवारी सेना प्रमुख सिनियर जनरल मिन आङ हेलिङलाई दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?