विराज महर्जनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

लोकपथ
0
Shares

काठमाडौं । सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले हिजो (सोमवार) अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिने बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उपाधि जितेको नेपाललाई खुुसीसँगै विराजको सन्यासले केही भावुक पनि बनायो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याच विराज महर्जनले सोमवार ७३औं अन्तर्राष्ट्रिय खेल करियर खेल्दै सन्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा सोमवार त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशको टोलीलाई २–१ ले हराउँदै उपाधि दिलाएसँगै विराजले सन्यासको घोषणा गरेका छन् । अन्तिम पटक दशरथ रंगशालामा राष्ट्रिय जर्सीमा देखिएका विराजलाई समर्थकले सम्मान दिएका थिए ।

डेढ वर्षे अन्तर्राष्ट्रिय गोलविहिन नेपाली फुटबलको यात्रालाई पूर्णविराम लगाउँदै नेपालले ३७ वर्ष पछि नेपाली मैदानमा अन्तर्राष्ट्रिय उपाधि उचाल्दा विराजलाई सुखद अन्त्यको सुनौलो अवसर पनि मिल्यो । उपाधि उचाल्दै फुटबल करियरलाई अन्त्य गर्न पाउँदा विराज खुसी सँगै भावुक पनि भएका थिए ।

बंगलादेशविरुद्धको फाइनल खेलमा विराजले नेपालका लागि खेलेको ७३औं प्रतिस्पर्धा रह्यो । बैकल्पिक खेलाडीका रूपमा ९०औं मिनेटमा मैदानमा प्रवेश गरेर अन्तिम खेल सुखद बनाउने अवसर विराजले पाएका हुन् । सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा डेब्यु गरेका विराजले यस अघि राजु शाक्यको नाममा रहेको ६८ क्यापलाई उछिनेर नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बनेका छन् ।

कुल १८ पटक नेपाली टोलीको कप्तानी सम्हालेका विराजले २०१५ केरालामा भएको साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा कप्तानको आर्मब्यान्ड पहिरिएका थिए ।

विभिन्न क्लब र राष्ट्रिय टोलीमा इन आउट हुँदै फुटबल खेलेका विराजले यस अघि अन्तिम पटक सन २०१९ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए । थ्री स्टार, मनाङ मर्स्याङ्दीका लागि तीन लिग उपाधि दिलाएका विराजको कप्तानीमा सन २०१६ मा बंगबन्धु गोल्डकप र सोही वर्षको सोलिडारिटी कपको उपाधि नेपाले हात पारेको थियो । नेपालले १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जित्दा विराज नै कप्तान रहेका थिए ।

सोही आधारलाई मान्दा विराज सर्वाधिक सफल खेलाडीको परिचय बनाउन सफल भएका छन् । सन्यासको घोषणा गरेका विराजले फुटबल गतिविधिबाट टाढा रहन नसक्ने प्रतिक्रिया दिए ।

खेलकुदलाई जीवन अपर्ण जो कोही खेलाडीलाई सन्यासको घोषणा गर्नु निकै पिडाको क्षण हुने गर्दछ । सफल रक्षकको गनिने विराजलाई नेपाली फुटबलले सफल कप्तान र अनुशासित खेलाडीको रुपमा सधै सम्झिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?