सर्वोच्चको फैसलापछि चिढिएको माओवादीले कांग्रेस र जसपासँग कड्किँदै सोध्यो- ‘कता लाग्ने?’

लोकपथ
7
Shares

काठमाडौं – नेकपा नामबारे  गत फागुन २३ कै   फैसला सदर गर्दै पुनरावेदन निवेदनमा निस्सा दिन सर्वोच्चले अस्वीकार गरेपछि चिढिएको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) लाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार राख्ने कि अविश्वासको प्रस्ताव ल्याउने   भन्ने विषयमा जवाफ दिन माग गरेको छ।

ओलीलाई हटाउन घुँडा धसेर लागेको माओवादीसँग रहेको विकल्पमध्ये पुनरावलोकनको निवेदन उपर सर्वोच्चले निस्सा दिन अस्वीकार गरेसँगै उससँग बाँकी अर्को  विकल्पमा जान उसले प्रमुख प्रतिपक्षी दल कांग्रेस र निर्णायक मानिएको जसपासँग यथासक्य ‘कित्ता क्लियर’ गर्न भनेको हो ।

यसबाहेक अब उससँग ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुबाहेक अर्को विकल्प छैन ।

माओवादीको अनौपचारिक स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हामीले औपचारिक रुपमा हाम्रो पार्टीको यो  सरकारलाई समर्थन छैन भनेर लेखेर दिने प्राविधिक कुराका कारणले नेपाली कांग्रेस र जसपाले निर्णय नगरेको भन्ने कुरा सत्य होइन। नेपाली कांग्रेस र जसपाले आफ्नै दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्‍यो सरकारलाई राख्ने कि अविश्वासको प्रस्ताव पेश गर्ने ? त्यसको निम्ति हामी गम्भीर अपिल गर्दछौँ।’

उनले लोकपथसँग कुरा गर्दै थपे, ‘क्लियर हुनुपर्‍यो भनेका हौँ । भोलि कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । त्यो बैठकले टुंगो लगाउला ।’

ओली सरकारसँग पानी बाराबारको स्थितीमा रहेको माओवादी केन्द्रले प्राविधिक रूपमा पत्र लेखेर समर्थन फिर्ता गर्न बाँकी रहे पनि ओली सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बताएपनि सर्वोच्चको फैसलापछिको करिब एक महिना पुग्न लाग्दासमेत उ दाउ हेर्दै च्याखे थापेर बसिरहेको छ।

वर्तमान संसदलाई पूरा अवधि क्रियाशील गराउन चाहेका कारण सरकारलाई औपचारिक रूपमा समर्थन फिर्ता गर्नु अगाडि पार्टीले सम्पूर्ण राजनीतिक पार्टीहरूसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठिक आँकलन गरेको माओवादी केन्द्रको स्पष्टोक्ति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?