काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया शुरु गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको हो ।
वातावरणमैत्री विद्युतीय बस खरिद प्रक्रिया चालू आर्थिक वर्षमा शुरु गरी आगामी वर्षको पुस–माघमा बस आइसक्ने छ । प्रदेश सरकारको अघिल्ला आर्थिक वर्षमा नै विद्युतीय बस सञ्चालन गर्ने नीति र कार्यक्रममा घोषणा गरिए पनि बोर्ड गठन र खरिद प्रक्रियामा भएको ढिलाइले बस खरिद र सञ्चालनमा ढिलाइ भएको थियो ।
बोर्डको निर्देशक जगदीशचन्द ढुङ्गानाले ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदका लागि ४५ दिनको म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरिएको बताए ।उनका अनुसार ८.५ मिटर देखि ९.४ मिटर लम्बाइको कोच सिटी मिनी बस १० वटा र १०.५ मिटर लम्बाइको सिटी मिनी बस २० वटा खरिद योजना रहेको जानकारी दिँदै चार्जर खरिदसँगै चार्जिङ सेन्टरको पूर्वाधार निर्माणलाई अगाडि बढाइने बताए ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया