काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले अब देशभर किसान आन्दोलनको ज्वाराभाटा उठाउने बताउँदै इतिहासले आफूमाथि भद्दा मजाक गरेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली किसान विरोधी रहेको भन्दै उनले सरकारमा रहेर किसानको पक्षमा कुनै काम गर्न नसकेको आरोप लगाउँदै ओली सरकारका किसानविरोधी हर्कतहरु जारी रहे देशभर किसान आन्दोलनको ज्वारभाटा उठाइने बताएका हुन् ।
आज शनिवार काठमाडौँको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको दुई दिने वागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले भो, यतिबेला सर्वोच्च अदालतको फैसलाको आधारमा हाम्रो मातृ पार्टीको विभाजनसँग हामी पनि पूर्ववतः अवस्थामा फर्कन बाध्य भएका छौँ। यो इतिहासले हामीमाथि गरेको एउटा भद्दा मजाक हो । कहिलेकाँही इतिहासले पनि मजाक गर्दो रहेछ ।”
उनले किसानहरु क्रान्तिका आधारभूत वर्ग रहेकोले किसान संगठन पार्टी र क्रान्तिको आधारभूत जनवर्गीय संगठन भएको बताउँदै यसको अत्यन्तै ठूलो महत्व रहेको र यसलाई व्यापक परिचालन गरिने, गाउँ गाउँमा किसान संगठन निर्माण गरिने र किसानहरुको समस्या समाधान गर्नका लागि देशव्यापी संघर्ष गरिने बताए ।
किसान नेता श्रेष्ठले एकतापूर्व किसान संगठनको रुपमा हिजो पनि सुव्यवस्थित तथा सशक्त भएको र नेकपा एकीकृत रहँदा किसान पक्षीय कामहरु गराउनका लागि निरन्तर दबाब दिइएको र किसान विरोधी सरकारी गतिविधि तथा कार्यक्रमको विरुद्ध जोड्दार ढंगले उठाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया